इटहरी : इटहरी उपमहानगरपालिकाको फोहोर व्यवस्थापनमा देखिएको समस्या तत्कालको लागि समाधान भएको छ ।
वडा नम्बर १० को कार्यालयमा स्थानीयवासी र जनप्रतिनिधि सहितको बैठकले तत्कालको लागि फोहोर प्रशोधन केन्द्रको ताला खोल्ने सहमति गरेको हो ।
विगतमा इटहरी उपमहानगरपालिका र स्थानीयवासी बिच भएको सम्झौता कार्यान्वयन हुने भएपछि स्थानीयले ताला खोल्न सहमति जनाएका छन् । तीन दिनमा पुरानो सम्झौता कार्यान्वयन नभए पुनः तालाबन्दी गर्ने गरी अर्को सहमति भएको हो ।
तत्कालीन प्रमुख कार्यकारी अधिकृत पशुपति खतिवडा र स्थानीयहरू बिच २०७१ फाल्गुनमा भएको सहमति ११ वर्षपछि पनि पुरा नभएपछि स्थानीयले खबरदारी गरेका थिए । उक्त सम्झौता पत्रमा शवदाह स्थल, खेलमैदान सहित न्यूनतम आवश्यक पूर्वाधार निर्माण भए पश्चात् मात्र फोहोर मैला व्यवस्थापन गर्ने उल्लेख गरिएको थियो । ड्रेन सहित कालोपत्रे सडक निर्माण गर्ने सहमति यसअघि नै कार्यान्वयन भइसकेको छ ।
फोहोर मैलाबाट दुर्गन्ध फैलिन नदिन उचित प्रबन्ध मिलाउने सहमति पत्रको ६ नम्बर बुँदामा उल्लेख छ । सोही बुँदा कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित बनेका हुन् । जनस्वास्थ्यमा असर पर्ने र सङ्क्रमण फैलिन कुनैपनि गतिविधि स्वीकार्य नहुने, फोहोर व्यवस्थापनको कर्मचारीमा १० प्रतिशत स्थानीयलाई समेट्नुपर्ने सम्झौतालाई कार्यान्वयन गराउन उनीहरूले माग राखेका थिए ।
उपमहानगरपालिकाले वार्षिक २ लाख रुपैयाँ स्थानीय सामाजिक विकासमा र खेलकुद विकासमा छुट्टै वार्षिक एक लाख लगानी गर्नुपर्ने समेत सहमति पत्रमा उल्लेख छ । सिप विकास देखि सिँचाइको सुविधा सम्मको लागि सहमति भएको थियो । ग्रामथानको व्यवस्थापन, रोजगारीको प्रबन्ध लगायत विषयमा गरिएको सहमति पत्रमा जनस्वास्थ्यको विषयलाई चासोका साथ राखिएको छ । जुन सहमति पुरा नभएपछि स्थानीय आक्रोशित बनेका हुन् ।

fohor 1