इटहरी : इटहरीमा फोहोर व्यवस्थापनको विषय लामो समयदेखि बल्झिरहने रोग जस्तै बनेको छ । वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र र वेष्ट एण्ड इन्भारो म्यानेजमेन्ट प्रालिसँगको सम्झौता अनुसार काम नभएपछि उपमहानगरपालिका विवादमा आएको हो ।
२० वर्षको लागि वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र र वेस्ट एण्ड इन्भारोसँग सम्झौता कार्यान्वयन हुन सकेको छैन । जसको कारण बढ्दै गएको विवादमा इटहरी उपमहानगरपालिका र स्वयम् कम्पनी दुवैले आफ्नो जिम्मेवारी पूरा नगरेको बताइन्छ । कम्पनीले सम्झौता अनुसार डस्टविन नराखेको, राजमार्गको नाला सफा नगरेको, नियमित फोहोर सङ्कलन नगरेको बताइएको छ ।
ल्याण्डफिल्ड साइडबाट प्रभावित स्थानीयलाई फाइदा पुग्नेगरि खेलमैदान व्यवस्थित गर्ने, क्लबलाई सहयोग पुर्याउने, प्रदूषण नियन्त्रण गर्ने र खोलामा तटबन्ध बाँध्ने सम्झौतामा उल्लेख छ । खोलामा आर्यघाट बनाउने काम गर्नेगरि भएको सम्झौता उपमहानगरपालिकाको तर्फबाट पनि कार्यान्वयन भएन । दुवै पक्षबाट सम्झौता पालना नभएपछि अहिले पुनः विवाद बाहिर आएको छ ।
२०७५ वैशाख १४ गते भएको सम्झौताअनुसार सोही वर्षको असोजसम्ममा प्रशोधन केन्द्र सञ्चालन गर्ने उल्लेख थियो । उपमहानगरले जग्गा व्यवस्थापन गर्नुपर्ने र १३ करोड ५० लाख रुपैयाँ वेस्ट एन्ड इन्भारो कम्पनीले खर्च गर्ने सम्झौतामा उल्लेख छ । फोहोरलाई पुनः प्रशोधन गर्न सकिने र नसकिने छुट्याएर व्यवस्थापन गर्नका लागि वेस्ट एन्ड इनभारोले ६० प्रतिशत र मेसिनरी सामान खरिद गर्नका लागि ४० प्रतिशत विश्व बैङ्कले लगानी गर्ने निर्णय भएको हो ।
उपमहानगरले अहिले वेस्ट एन्ड इन्भारो कम्पनीलाई फोहोरको जिम्मा दिएसँगै मासिक तीन लाख रुपैयाँ पाँच वर्ष सम्म दिने गरेको छ । कम्पनीले आम्दानीको एक प्रतिशत उपमहानगरलाई दिने सम्झौता भए पनि हाल कम्पनी घाटामा रहेकोले उपमहानगरले आम्दानी गर्न सकेको छैन ।
केही समय अगाडी फोहोर बोकेको गाडीको ठक्करबाट एक बालकको मृत्यु भयो । त्यसले स्थानीयमा आक्रोश बढायो । मृतकको परिवारलाई राहत उपलब्ध गराउने सहमति भयो । त्यसपछि विगतमा इटहरी उपमहानगरपालिका र स्थानीय बिचमा भएको सहमति पालना भएको भन्दै प्रशोधन केन्द्रमा तालाबन्दी भएको छ ।
एक साता देखि फोहोर नउठाएको कम्पनीले अहिले कम्पनी नै विक्रीमा रहेको सूचना प्रकाशित गरेको छ । १२ करोड ५० लाखमा किनेको कम्पनी सोही मूल्यमा विक्री गर्ने जनाइएको छ । ७ करोड ५० लाख ऋण भएको र मासिक ११ लाख किस्ता ५ महिनादेखि तिर्न नसकेको समेत कम्पनीले जनाएको छ ।
फोहोर व्यवस्थापनमा समस्या देखिएपछि मेयर हेमकर्ण पौडेलले प्रेस विज्ञप्ति जारी गरेका छन् । स्थानीयसँग गरेको केही सम्झौता पुरा भइसकेको र बाँकी सम्झौता केही समयमा पूरा गर्ने मेयर पौडेलले विज्ञप्ति मार्फत बाचा गरे । फोहोर व्यवस्थापनमा अवरोध नगर्न अनुरोध गर्दै उनले मानवीय क्षति भएको प्रति दुःख व्यक्त गरेका छन् ।
कम्पनी नै विक्रीमा रहेको सूचना

मेयर हेमकर्ण पौडेलकाे प्रेस विज्ञप्ति






























































