इटहरी : नेपाली काँग्रेसबाट सुनसरी क्षेत्र नम्बर २ का प्रत्याशी उम्मेदवार बनेका राजीव कोइरालाले इटहरी उपमहानगर समितिका सभापति हेम कर्ण पौडेललाई बानी सुधार गर्न आग्रह गरेका छन् ।
अन्य जनप्रतिनिधि कार्यक्रममा सहभागी भइरहेको अवस्थामा इटहरी उपमहानगरपालिकाका मेयर पौडेल कतै पनि नदेखिएपछि उनले उक्त सुझाव दिएका हुन् । 
सुनसरी क्षेत्र नम्बर २ (क) क्षेत्रीय समितिले आयोजना गरेको धन्यवाद सभालाई सम्बोधन गर्दै निवर्तमान केन्द्रीय सदस्य कोइरालाले पार्टीको कार्यक्रममा पौडेल सहभागी नभएको प्रति संशय व्यक्त गरे ।निर्वाचनको दौरानमा समेत विभिन्न सभामा पौडेल उपस्थिति नभएको विषयले काँग्रेस वृत्तमा चर्चा पाउने गरेको थियो ।
निर्वाचन आचारसंहिता भन्दै कार्यक्रममा सहभागी नभएका पौडेलको विषयमा निर्वाचन पश्चात् कोइरालाले टिप्पणी गरेका हुन् । कोइरालाको सो अभिव्यक्ति पछि उपस्थित नेता कार्यकर्ताले गडगडाहट ताली बजाएका थिए । 
पार्टीमा बहसको थालनी गर्नुपर्ने बताउँदै कोइरालाले आफ्नो आलोचना सुन्नुपर्ने र समीक्षा गर्नुपर्ने बताए । कोही रिसाए खुसाएपनि मतलब नभएको बताउँदै उनले पार्टीलाई नवीन ढङ्गले अगाडी बढाउन जरुरी रहेको प्रस्ट पारे । 
फाल्गुन २१ गतेको निर्वाचनमा पराजित भएका कोइरालाले निर्वाचनको दौरानमा सहयोग गर्ने सम्पूर्ण पार्टी पङ्क्तिलाई धन्यवाद दिए । जनतामा व्याप्त निराशाबाट बाहिर निकाल्न भ्याक्सिन नै तयार गर्नुपर्ने उनको भनाइ थियो । कार्यक्रममा केन्द्रीय सदस्य दिलकुमारी राई, निवर्तमान केन्द्रीय सदस्य राजीव ढुङ्गाना लगायत नेताहरूले सम्बोधन गरेका थिए ।