वराहक्षेत्र :वराहक्षेत्र नगरपालिका वडा नं ११ मधुवन बजारस्थित प्रहरी चौकी नजिक आधुनिक सार्वजनिक शौचालय निर्माण भएको छ । नगरपालिकाकै पुरानो तथा ऐतिहासिक बजारको रूपमा रहेको मधुबन बजार क्षेत्रमा स्थानीय अगुवा तथा व्यवसायीहरूको माग तथा समस्यालाई मध्यनजर गरी शौचालय निर्माण गरिएको नगर प्रमुख रमेश कार्कीले बताए ।
आइतवार नवनिर्मित शौचालय भवनको नगर प्रमुख रमेश कार्कीले रिवर काटेर उद्घाटन गरेका थिए । नगरपालिको समन्वयमा नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गत खानेपानी तथा ढल व्यवस्थापन विभाग मझ्‌यौला र साना शहरहरुमा खानेपानी , सरसफाई , स्वच्छता,तथा स्वास्थ्य पहलहरू अन्तर्गत निर्माण गरिएको उक्त शौचालयमा महिला,पुरुष र अपाङ्गमैत्रीका लागि छुट्टाछुट्टै व्यवस्था गरिएको छ। ६६.८३ वर्ग मिटरमा निर्माण भएको शौचालयको लागत ६७ लाख ५७ हजार ७ सय ७४ रुपैयाँ ३८ पैसा रहेको छ ।
उद्घाटन कार्यक्रममा वराहक्षेत्र नगरपालिकाका नगरप्रमुख रमेश कार्कीले शौचालयको समुद्घाटन गर्दै यसले स्थानीयवासी लाई सहज, सुरक्षित र स्वच्छ सुविधा उपलब्ध गराउने बताए ।
उक्त उद्घाटन कार्यक्रममा वडा नं. ११ का वडाध्यक्ष कृष्ण कुमार महतो, वडा सदस्यहरू, स्थानीय समाजसेवी, शैक्षिक एवं बौद्धिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। शौचालयले मधुवन बजार क्षेत्रको स्वच्छता को रूपमा काम गर्ने वडाध्यक्ष कृष्ण कुमार महतोले बताए ।