धरान : सुनसरी १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका नेपाल कम्युनिस्ट पार्टीका मनोज भट्टराईले निर्वाचनमा पराजित भए पनि जनताको मन र भूगोल जोड्ने अभियानलाई निरन्तरता दिने बताएका छन्।
आईतबार निर्वाचन आयोगले अन्तिम परिणाम सार्वजनिक गरे लगत्तै आयोजित पत्रकार सम्मेलनमा उनले हार–जितलाई लोकतान्त्रिक प्रक्रियाको स्वाभाविक हिस्सा भएको बताए। परिणाम जे आए पनि आफ्नो मनोबल उच्च रहेको र लक्ष्यप्रति सधैँ प्रतिबद्ध रहने उनले उल्लेख गरे।भट्टराईले भने“पदमा नरहे पनि जनताको अपेक्षा र राष्ट्रिय आवश्यकताको प्रतिनिधित्व गर्दै आफ्नो भूमिका निर्वाह गर्ने प्रतिविद्धतामा कुनै कमी आउन दिने छैन ।,”
उनले देशको राष्ट्रिय राजनीति कुन दिशामा अघि बढिरहेको छ भन्ने विषयमा गम्भीर विश्लेषण आवश्यक रहेको बताए। साथै जनतासँग अझ बलियो सम्बन्ध स्थापित गर्न सङ्गठनभित्र आत्म समीक्षा र रूपान्तरण आवश्यक रहेको धारणा राखे।
उनले भने“हामी जनतासँगको दूरी कहाँ बढ्यो र उनीहरूको सुख,दुःखमा हाम्रो साथ कहाँ पुगेन भन्ने विषयमा गम्भीर समीक्षा गर्नुपर्छ ।,”
भट्टराईले आगामी दिनमा पनि जनताको सुख–दुःखमा सधैँ साथ रहने र सार्वजनिक सेवामा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे। साथै करिब १५ महिनापछि हुने स्थानीय तथा प्रादेशिक निर्वाचनलाई ध्यानमा राख्दै अहिल्यैदेखि तयारी सुरु गर्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरे।
नेपाल कम्युनिस्ट पार्टीले परिकल्पना गरेको स्थिर र भ्रष्टाचारमुक्त सरकार निर्माण हुने विश्वास व्यक्त गर्दै त्यसलाई नयाँ पुस्ताले साकार पार्ने अपेक्षा पनि उनले व्यक्त गरे।
भट्टराईले आफूलाई विश्वास गरेर मतदान गर्ने ६ हजार १८५ मतदातालाई विशेष धन्यवाद दिँदै तपाईँहरूको भरोसामा कुनै कमी आउन दिने छैन ।अन्त्यमा उनले निर्वाचनमा विजयी उम्मेदवार,निर्वाचन सुरक्षामा खटिएका सुरक्षाकर्मी तथा सम्पूर्ण धराने मतदातालाई बधाई तथा धन्यवाद व्यक्त गरेका छन्।