धरान : ४औँ धरान गोर्खा ट्रेल ब्लेजरको उपाधि पुरुषतर्फ उमेश थापा र महिलातर्फ प्रिया तामाङले जितेका छन्।
पुरुष विजेता उमेश थापा धरानका धावक हुन् भने महिला विजेता प्रिया तामाङ भारतको दार्जिलिङकी धाविका हुन्। उनी १४औँ धरान रनकी तेस्रो विजेता समेत हुन्।
शनिबार बिहान सम्पन्न ९ किलोमिटर दूरीको दौड उमेशले २५ मिनेट ५१ सेकेन्डमा पूरा गर्दै उपाधिसहित २० हजार रुपैयाँ नगद प्राप्त गरे। महिलातर्फ विजेता प्रियाले ३० मिनेट ४६ सेकेन्डमा दूरी पार गर्दै २० हजार रुपैयाँ नगद हात पारिन्। प्रतियोगितामा करिब ६ सय धावक–धाविकाको सहभागिता रहेको थियो।
पुरुषतर्फ २५ मिनेट ५३ सेकेन्डमा दूरी पूरा गर्दै विकास भुजेल दोस्रो बने। उनले मेडलसहित १० हजार रुपैयाँ प्राप्त गरे। २५ मिनेट ५४ सेकेन्डमा दूरी पार गर्दै अमिर लिम्बु तेस्रो भए। उनले ट्रफी,मेडलसहित ५ हजार रुपैयाँ प्राप्त गरे। लिम्बु १४औँ धरान रनमा समेत तेस्रो भएका धावक हुन्।
महिलातर्फ पुष्पा सेर्मा लिम्बु ३० मिनेट ५४ सेकेन्डमा दूरी पार गर्दै उपविजेता बनिन्। उनी गत वर्षकी विजेता तथा धरान रनकी उपविजेता समेत हुन्। ३० मिनेट ५५ सेकेन्डमा दूरी पार गर्दै दीप बस्नेत तेस्रो भइन्। उनीहरूले क्रमशः १० हजार र ५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे।
पुरुष भेट्रानतर्फ रेशम लिम्बुले २८ मिनेट १३ सेकेन्डमा दूरी पार गर्दै उपाधि जिते। विजयकुमार राई ३१ मिनेट १८ सेकेन्डमा दूरी पूरा गर्दै दोस्रो तथा विमान राई ३३ मिनेट १३ सेकेन्डमा दूरी पार गर्दै तेस्रो भए।
महिला भेट्रानतर्फ जमुना लिम्बुले ४२ मिनेट ४५ सेकेन्डमा दूरी पूरा गर्दै प्रथम बनिन्। कुसुम लिम्बु ४६ मिनेट २७ सेकेन्डमा दोस्रो तथा असुली राई ५१ मिनेट ६ सेकेन्डमा तेस्रो भए। उनीहरूले क्रमशः ५ हजार, ३ हजार र २ हजार रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे।
पूर्व गोर्खाहरूको ‘पुर्खा दिवस’ अप्रिल ५ को अवसरमा गोर्खा सिमेट्री ट्रस्ट नेपालको आयोजनामा ‘गोर्खा ट्रेल ब्लेजर नेपाल–२०२६’ को चौथो संस्करण सम्पन्न भएको हो। दौड धरान–१८ स्थित रत्न चोकबाट सुरु भई मङ्गलवारे, सर्दु खोलाको नयाँ पुल हुँदै विष्णुपादुकास्थित भन्ज्याङमा पुगेर समापन गरिएको थियो।
विजेता तथा उपविजेताहरूलाई समापन समारोहका सभापति महेन्द्रकुमार राई र धरान–२० का वडाध्यक्ष पदमबहादुर राईले पुरस्कार वितरण गरेका थिए।
कार्यक्रमको उद्घाटन धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर अइन्द्रविक्रम बेघा र धरान–१८ का वडाध्यक्ष नरेन्द्रकुमार राई ‘प्रवीण’ले गरेका थिए। प्रतियोगितामा सुनसरी, झापा, मोरङ, उदयपुर, भोजपुर र धनकुटा लगायत जिल्लाबाट ६ सयभन्दा बढी धावक–धाविकाको सहभागिता रहेको आयोजकले जनाएको छ। प्रतियोगितामा धरान रनको प्राविधिक सहयोग थियो ।