धरान : राजस्व वृद्धिदरमा आएको गिरावट, बढ्दो सार्वजनिक ऋण र घट्दो बचत दरले नेपालको आर्थिक अवस्था चुनोैतीपूर्ण बनेको अर्थविद् डा. हरि रोकाले बताएका छन् ।
शनिवार धरान–७ लीला श्रेष्ठ प्रतिष्ठानमा आयोजित अन्तरक्रियामा उनले भने "विगतमा राजस्व वृद्धिदर उच्च रहेकाले साधारण खर्च धानेर विकास बजेटका लागि रकम बचत हुने अवस्था थियो तर हाल राजस्व वृद्धिदर घटेर करिब ७ दशमलव ५ प्रतिशतमा सीमित हुँदा राज्यलाई न्यूनतम खर्च धान्न समेत कठिन भइरहेको छ।"
नेपालको कुल गार्हस्थ्य उत्पादनको ठुलो हिस्सा उपभोगमै खर्च हुने र बचत दर निकै न्यून रहेकाले पूर्वाधार विकासका लागि आवश्यक लगानी जुटाउन कठिन भइरहेको उनको भनाइ छ । रोकाले भने "देशमा आवश्यक लगानी र उपलब्ध बचतबिच ठुलो वित्तीय खाडल देखिएको छ।"
सार्वजनिक ऋण समेत तीव्र गतिमा बढिरहेको बताउँदै उनले केही महिनाअघि २७ खर्ब रहेको ऋण बढेर ३१ खर्ब पुगेको र आगामी असारसम्म साँवा तथा ब्याज भुक्तानीमा ठुलो रकम खर्च हुने अनुमान गरिएको उल्लेख गरे।
आर्थिक सङ्कटसँगै समाजमा राजनीतिप्रति निराशा बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै उनले नागरिक र जनप्रतिनिधिबीचको सम्बन्ध कमजोर बन्दै गएको बताए ।
फागुन २१ गतेको चुनावमा खोटाङबाट पराजित रोकाले निर्वाचनमा सहभागी मतदाताप्रति आभार व्यक्त गर्दै लोकतन्त्रमा जनमतको सम्मान गर्नु आवश्यक रहेको बताए ।