इटहरी : इटहरीमा क्याफे र रेस्टुरेन्टको सङ्ख्या र गुणस्तरसँगै कफी कल्चरपनि बढिरहेको छ । इटहरीले कफीको स्वाद पाएका भर्खरै एक दशक पुरा भयो । २०७२ सालमा अपस्टेर्यस खुलेपछि मेसिनको कफीको स्वाद इटहरीले पायो । त्यस लगत्तै खुलेको कफीलयले व्यवसायको लय समायो । कफिलयले सुरुवात देखि अहिलेसम्म गुणस्तरमा कुनैपनि कमी आउन दिएन ।
निरन्तरको प्रयासमा कफिलयले पाउरोटीको साथ पाएको छ । नुरज राईले कफीलयलाई एक्लो बनाएनन् बरु पाउरोटी बेकरी एण्ड कफिसप खोले । पाउरोटी बेकरीमा जति प्रख्यात छ त्यो भन्दा बढी कफीमा ख्याति कमाएको छ ।
राजनीतिक देखि स्टार्टअप बिजनेसको हब नै बनेको छ पाउरोटी । पुस्तकालय कक्षको छुट्टै व्यवस्थापन गरेको पाउरोटी इटहरी स्थापित कफिसप हो । नुरजले पाउरोटी र कफिलयलाई समान गतिमा अगाडी बढाएका छन् । लाहुरे बाको छोरा नुरज आफै ब्रुनाईमा जन्मिएका हुन् । दुईबर्षको उमेरमा नेपाल भित्रिएका उनी अहिलेपनि त्यति परिचित छैनन् जति उनको व्यवसाय प्रख्यात छ ।
२०७० मा काठमाडौँ गएर पर्ल कफीमा एक साता बारिष्टा तालीम लिए । कफी र मेसिनको सामान्य ज्ञान लिएर इटहरी फर्किएका उनले त्यसपछि कफिलय सुरुवात गरे । त्यही १० वर्ष अगाडीको त्यो सुरुवातले नुरजको व्यवसाय एउटा ब्राण्ड बनेको छ ।
कफीलयमा १५ लाख लगानी गरेका नुरजले अहिले त्यहीबाट कमाउँदै करोड बढी लगानी मात्र गरेका छन् । १५ जनालाई रोजगारी दिएका उनले अझै दक्ष जनशक्ति अभाव रहेको बताए । २० लाखमा सुरुवात गरेको बेकरी उद्योगले उनलाई थप उत्साह थपेको छ । बेकरीमा कामदार नभएको कारण उत्पादनको अनुपात बढाउन नसकेको बताउँछन् नुरज ।
युवाहरू विदेश जानकै लागि बेकरी र बारिष्टा सिक्ने आउने गरेको बताउँदै उनले नेपालमा जनशक्ति नपाइने गुनासो गरे । नुरजको मेहनतमा श्रीमती ज्योतिका सुब्बाले हौसला मात्र हैन आधा जिम्मेवारी सम्हालेकी छिन् । होटेल म्यानेजमेन्टमा डिप्लोमा सकेकी ज्योतिकाको लगावले नुरजलाई जति ऊर्जा मिलेको त्योभन्दा बढी व्यावसायिक फाइदा भएको छ ।
कफीको उपभोक्ता सँगै क्याफेको सङ्ख्या बढ्दै गएकाले व्यापारको अनुपातको समान गतिमा रहेको बताउँछन् नुरज । दैनिक दुई सय कपसम्म कफी विक्री गर्ने गरेका उनले गुणस्तरीयतालाई जोड दिएका छन् । बजारमा प्रिमियम कफी र सस्तो कफीमा फरक छुट्याउन नसक्ने अवस्थाले ग्राहक ठगिएको उनको भनाइ छ ।



































































