इटहरी : गत वैशाखमा म्याद सकिएको इटहरीको जनता माध्यमिक विद्यालय (मावि) व्यवस्थापन समितिले अझै कायममुकायमको भरमा चलिरहेको छ । नेकपा एमाले भित्रको आन्तरिक कलह र नेपाली काँग्रेस सँगको भागबन्डा नमिल्दा १० महिना देखि नयाँ व्यवस्थापन समिति गठन हुन नसकेको हो ।

समितिको पदावधि समाप्त हुनु भन्दा एक महिना अगावै अभिभावक भेला बोलाउनुपर्ने कानुनी व्यवस्था भएपनि जनता मावि आन्तरिक कलहमा डुब्दै गएको छ । निवर्तमान अध्यक्ष काशीनाथ दंगालले पुनः अध्यक्ष बन्नेगरि सदस्यमा मनोनयन दर्ता गराएपछि विवाद चुलिएको छ । अभिभावक बिचमा सहमतिको प्रयास भइरहेको अवस्थामा दंगालको उम्मेदवारीले थप तरङ्ग ल्याएको हो ।

पालिकाको शिक्षा शाखा प्रमुख अध्यक्ष, प्रधानाध्यापक सदस्य सचिव र वडाध्यक्षहरू सदस्य रहने गरी छनौट समिति गठन भइसकेको छ । सो समितिले ३ पटक अभिभावक भेला समेत बोलाइसकेको छ । पहिलो र दोस्रो भेलामा बहुमत नपुगेपछि तेस्रो भेलाको उपस्थितिलाई आधार मानेर समिति गठन गर्ने तयारीमा रहेको छनौट समिति समेत सफल हुन सकेको छैन । ४ जना सदस्यको लागि ७० बढी उम्मेदवारी परेपछि समिति अलमलमा परेको हो ।

सो विषयमा छनौट समितिले इटहरी उपमहानगरपालिकाको नगर शिक्षा समितिमा पठाइसकेको छ । जेनजी आन्दोलन र निर्वाचनको माहौलले नगर शिक्षा समितिले त्यस विषयमा निर्णय गर्न नसकेको समितिका सदस्य सचिव तथा शिक्षा शाखा प्रमुख रमेश साहले बताए । उनका अनुसार भर्खरै शिक्षा समिति गठन भइसकेको हुँदा समिति संयोजक (मेयर हेमकर्ण पौडेल) ले बैठक बोलाएर केही निर्णय गराउने तयारी गरेका छन् ।

नगर शिक्षा नियमावलीमा अस्थायी व्यवस्थापन समितिको विषय समेटिएकाले अर्को निर्णय नभएसम्म शिक्षा समितिले तोक्ने व्यवस्था गरिएको छ । सोही अनुसार तदर्थ समिति गठन गर्ने तयारी भइरहेको छ । जसमा अभिभावक नभएका व्यक्तिलाई समेत समाजसेवीको रूपमा समितिको अध्यक्ष चयन गर्न सकिने आकलन गरिएको छ । त्यस बाहेक निवर्तमान अध्यक्ष काशीनाथ दंगाललाई नै चयन गर्न सकिनेगरि तयारी भइरहेको छ ।