इटहरी : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेश महामन्त्री तथा सुनसरी क्षेत्र नम्बर २ का उम्मेदवार लालविक्रम थापा विवादित छन् । पार्टीभित्र र बाहिर पनि थापा विवादित छविका नेता हुन् । मुख्यतः आर्थिक लेनदेन र सुनसरीमा रास्वपा भित्रको राजनीतिक गतिविधिमा उनको चर्चा हुने गरेको छ ।
पछिल्लो समय सुनसरी क्षेत्र नम्बर २ को प्रतिनिधिसभा उम्मेदवार भएका उनले यसअघि पनि सम्मानजनक मत पाएका थिए । रास्वपाको खासै चर्चा नभएको समय बलियो पकड बनाएका उनी यस पटक नतिजा आफ्नो पक्षमा पार्नेगरी लागि परेका छन् ।
तर थापामाथि व्यक्तिगत र सार्वजनिक सम्पत्तिको लेनदेनमा अपारदर्शीताको आरोप छ । त्यसमध्ये इटहरी-९ बुद्ध चोकमा रहेको जग्गा भाडामा लिएर पैसा नतिरेको मुख्य विवाद छ । जनता माध्यमिक विद्यालयको जग्गा भाडामा लिएर रकम नबुझाएपछि थापा विवादमा तानिएका हुन् ।
लामो समयदेखि भाडा नबुझाएपछि थापाको कम्पनी सनमुनको नाममा विद्यालयले ताकेता गरिरहेको छ । हाल सो आरोपबाट भाग्नको लागि थापाले आफ्नै परिवारका सदस्यको नाममा कम्पनी नामसारी गरेका छन् । सनमुन प्लाजा र जनता मावि बिचमा भएको सम्झौता अनुसार प्लाजाले विद्यालयलाई भाडा बापतको पैसा भुक्तानी गरेको छैन । यसअघि २०७८ चैतमै प्लाजालाई विद्यालयले पत्र पठाएर ३ दिनको म्याद दिएको थियो ।
२०७६ साउन १ देखि लागु हुनेगरि करिब २ कट्ठा जग्गा भाडामा लगाउने सहमति भएको हो । सम्झौता अनुसार मासिक १ लाख ७ हजार ५ सय एक रुपैयाँ बुझाउनुपर्ने उल्लेख छ । प्रत्येक २ वर्षमा ५ प्रतिशतका दरले भाडा बढाउने देखि जग्गामा भौतिक संरचना दोस्रो पक्ष भनिएको सनमुन प्लाजाले बनाउनुपर्ने र कानुनी समस्या आए विद्यालय प्रशासनले समाधान गर्ने सहमति भएको थियो । हाल भवन निर्माण भएर भाडामा लागिसकेको छ ।
सम्झौता अनुसार फाल्गुन १ गतेसम्मको हिसाब गर्दा थापाले ८९ लाख ९२ हजार ३७५ रुपैयाँ तिर्नुपर्ने हुन्छ । २०७६ साउन देखि २०७८ असार मसान्तसम्मको २५ लाख ८० हजार, २०७८ साउन देखि २०८० असार मसान्तसम्म २७ लाख ९ हजार, २०८० साउन देखि २०८२ असार मसान्तसम्म २८ लाख ३८ हजार र २०८२ साल फाल्गुन १ गते सम्म ७ महिनाको ८ लाख ६५ हजार ३७५ रुपैयाँ तिर्नुपर्ने देखिएको छ ।
तत्कालीन सहायक प्रधानाध्यापक र हालका प्रधानाध्यापक पशुपति सिग्देल र मुकेश फर्निचर उद्योग इटहरीका गणेश प्रसाद कोइराला, पुष्कर थापा र लालविक्रम थापा बिच सहमति भएको हो । पछि मुकेश फर्निचरको नाममा भएको सम्झौता सम्पूर्ण कार्यान्वयन गर्नेगरि सनमुन प्लाजा सँग सम्झौता भएको थियो ।
सनमुन सँगको सहमति अनुसार पैसा नतिरेपछि विद्यालयले २०७८ माघ ६ गते पटक पटक सूचना निकाल्दा समेत पैसा नआएको भन्दै ३ दिनभित्र भाडा तिर्न ताकेता गरेको थियो । त्यस बिचमा विभिन्न कानुनी र व्यवहारिक झन्झटले गर्दा समयमै निर्माण सम्पन्न नभएको र भाडा लगाउन नसकेको कारण सनमुनले भाडा तिर्न नसकेको प्रतिक्रिया दियो ।
सम्झौता भएदेखि नै भाडा नबुझाएका थापालाई कारबाही गर्नुपर्ने भन्दै रास्वपा भित्र समेत विवादको विषय बन्यो । भाडा विवाद सतहमा आएपछि तत्कालीन कोशी प्रदेश प्रवक्ता कमलबाबु मैनालीले विज्ञप्ति जारी गर्दै थापालाई कारबाही गरेको जानकारी गराए । अर्को निर्णय नआएसम्म थापालाई पार्टीको कुनैपनि गतिविधिमा संलग्न नहुन निर्देशन दिए । प्रदेश महामन्त्री थापालाई कारबाही गर्न तत्कालीन अध्यक्ष राजेश तिम्सिनाले नै निर्देशन दिएका थिए ।
हाल तिम्सिना र मैनाली दुवैलाई पार्टी हित विपरीत गतिविधि गरेको भन्दै उनै थापाले कारबाही गराएका छन् । कोशी प्रदेश महामन्त्री थापाले पार्टीमा आफ्ना विरोधी र फरक मत राख्नेलाई निष्कासन नै गर्ने सम्मको कारबाही गर्ने गरेको नेताहरू बताउँछन् । उनकै कारण गृह नगर इटहरी र गृह जिल्ला सुनसरीको रास्वपाका समेत विवाद छ ।
विवादित बनेपछि थापाले यसअघि नै आफूले धेरै लगानी गरेको तर कोरोना महामारीको कारण समयमै भवन निर्माण गर्न नसक्दा समस्या भएको बताएका थिए । विभिन्न निकायबाट अवरोध भए पनि आफूले भवन निर्माण गरेको तर भाडामा लगाउने समयमा समस्या भएको उनको भनाइ थियो

































































