धरान : सुनसरी १ मा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार महेश श्रेष्ठले नेपालको अर्थतन्त्र धानेको वैदेशिक रोजगारीको रेमिट्यान्स भए पनि वैदेशिक रोजगारीमा हुने शोषण, अन्याय नियन्त्रण गर्न अहिले सम्म कुनै कानुन नबनेकोले संसदमा कडा कानुनका लागि आवाज उठाउने प्रतिबद्धता जनाएका छन् ।
वैदेशिक रोजगारीमा गएको परिवार, अभिभावकलाई राज्यबाट संरक्षण गरिनु पर्ने बताउँदै भने ‘उनीहरूको सामाजिक, आर्थिक सुरक्षा प्रत्याभूतिका लागि पनि कानुनी व्यवस्था हुनु पर्दछ ।’ उनले वैदेशिक रोजगारीमा जाने क्रमलाई भाषण गरेर रोक्न नसकिने बताए । श्रेष्ठले भने ‘नेपालमै प्राविधिक शिक्षापछि रोजगारीको सुनिश्चितता गर्न शिक्षा कानुन ल्याउनु पर्छ ।’
उम्मेदवार श्रेष्ठले मङ्गलवार पत्रकार सम्मेलन बिच आफ्नो २४ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गर्दै श्रम, किसान, महिला, दलित, आदिवासी, युवा, ज्येष्ठ नागरिक,अपाङ्ग,संस्कृति,पर्यटन,खेलकुद र आत्मनिर्भर अर्थतन्त्रलाई केन्द्रमा राखेर नीति निर्माण र कार्यान्वयनमा जोड दिने प्रतिबद्धता व्यक्त गरे ।
उनको प्रतिबद्धताहरूमा बिपी प्रतिष्ठान पूर्ण सरकारी स्वास्थ्य सेवामुखी विश्वविद्यालय बनाई निःशुल्क आधारभूत उपचार, घुम्ती स्वास्थ्य शिविर समेत सञ्चालन गर्ने जिम्मेवारी दिने उल्लेख छ । सरकारी विद्यालयको गुणस्तर सुधार, किसानहरूलाई मल, बीउ, सिँचाइ, बजार सुनिश्चितता गर्दै साना, घरेलु उद्योगलाई संरक्षण र सहुलियत ऋण उपलब्ध गराउने नीति उल्लेख छ ।
महिला व्यावसायिक तालिम र बजार प्रवर्धनमा राज्य सहयोग प्रदान गर्नु पर्ने, सहकारी ठगी विरुद्ध कडा संघीय ऐन निर्माण गरी लघुवित्त ऋणका कारण हुने आत्महत्याको अन्त्य गनुपर्नेमा जोड दिएका छन् ।
महिला हिंसा र लैङ्गिक विभेदविरुद्ध कडा कानुन, समान ज्याला, समान अधिकार स्थापना उनको प्रतिबद्धतामा उल्लेख छ ।
दलित र आदिवासीको शिक्षा, रोजगारी, आवास र सांस्कृतिक संरक्षण गर्दे,ज्येष्ठ नागरिक, अपाङ्ग, असक्तलाई निःशुल्क उपचार, मिलन केन्द्र, घरमै बैङ्किङ र सामाजिक सुरक्षा दिने व्यवस्थालाई प्राथमिकता प्रतिबद्धतामा छ ।
अटिजम र विशेष आवश्यकता भएका बालबालिकाको विशेष शिक्षा र उपचार व्यवस्था गर्नुपर्ने, शुद्ध खानेपानीलाई मौलिक हकको व्यवस्थामा राखिनु पर्ने उनको प्रतिबद्धतामा उल्लेख छ ।
दीर्घकालीन जलस्रोत संरक्षण, खानेपानीको महसुल घटाउने, सिमसार, वन र जैविक विविधताको संरक्षण गर्दे मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण र क्षतिपूर्ति दिनुपर्ने प्रतिबद्धतामा उल्लेख छ ।
उच्च क्षमताको विद्युत् प्रसारण हाई टेन्सन लाइन मुनि बसोबास गर्ने बस्तीको सुरक्षाको कुरा पनि उनको प्रतिबद्धतामा उल्लेख छ ।
धरानलाई उपभोगमुखी शहरबाट उत्पादनमुखी शहर बनाउनु पर्ने एक द्वार व्यवसाय सेवा केन्द्र स्थापना, स्थानीय उत्पादन प्रवर्धन, पर्यटन–संस्कृति–स्थानीय उत्पादनसँग जोड दिइने, साना, मझौला उद्योग र रोजगारीमा प्राथमिकता दिइने प्रतिबद्धतामा उल्लेख छ ।
सुनसरीको बहु जातीय अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण, सूचीकरण र अन्तर्राष्ट्रियकरण,धार्मिक–सभ्यतागत स्थलहरूसङ वराहक्षेत्र,औलिया मठ, सूर्य कुण्ड, पिण्डेश्वर, रामधुनी, विष्णुपादुका,दन्तकाली धार्मिक सांस्कृतिक र पर्यटकीय हब बनाउन जोड दिने प्रतिबद्धतामा उल्लेख छ ।