धरान : पूर्व गोर्खा सैनिकहरूको सङ्गठन गेसोका अध्यक्ष कृष्णकुमार राईले सुनसरी क्षेत्र १ को प्रतिनिधिसभा निर्वाचनमा यहाँका लाहुरे समुदायको समर्थन नेकपाका उम्मेदवार मनोज भट्टराईलाई भएको बताएका छन् ।
हर्क साम्पाङ भ्रममा छन्
धरानमा आज सोमवार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष राईले धरानका पूर्व नगर प्रमुख हर्क साम्पाङलाई लाहुरे समुदायको समर्थन रहेको ठुलो भ्रम मात्रै रहेको बताउँदै भने ‘ लाहुरे समुदायको समर्थन नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार मनोजको पक्षमा रहने छ ।’
उनले लाहुरे समुदाय कुनै भ्रममा नरहेको स्पष्ट गर्दै भने ‘विकास, स्थायित्व र दीर्घकालीन सोच भएको नेतृत्वलाई आधार मानेर मत दिने निर्णय गरिएको छ ।’ सोही अनुसार पूर्व गोर्खा समुदायको समर्थन नेकपा उम्मेदवार मनोजको पक्षमा केन्द्रित हुन्छ ।
अध्यक्ष राईले पूर्व नगर प्रमुख हर्क साम्पाङलाई मित्र र साथीको रूपमा लिने बताउँदै भने ‘उहाँ आफ्नो ढङ्गले काम गरिरहनुभएको छ, हामी आफ्नो ढङ्गले राजनीतिक सङ्घर्ष गरिरहेका छौँ ।”
उनले लाहुरे समुदाय धरान र सुनसरी क्षेत्रको सामाजिक–आर्थिक विकास, सुशासन र स्थिर राजनीतिक नेतृत्व चाहने पक्षमा रहेको बताए । यही कारण आगामी निर्वाचनमा लाहुरे समुदायको निर्णायक मत नेकपाको उम्मेदवार मनोजतर्फ जाने उनले उद्घोष गरे ।
ढुङ्गा बोकेर मात्र देश बन्दैन
अध्यक्ष राई भने ‘ढुङ्गा बोकेर मात्र देश बन्दैन, देश बनाउने हो भने नीति, दृष्टिकोण र जिम्मेवार नेतृत्व चाहिन्छ ।’ श्रम संस्कृति पार्टीले विकासका लागि व्यवहारिक योजना र दीर्घकालीन सोच ल्याउन नसकेको उनले स्पष्ट पारे ।
प्रतीकात्मक गतिविधि वा भावनात्मक नाराले मात्र राष्ट्र निर्माण सम्भव नहुने बताउँदै उनले भने,“देश बनाउने आधार शिक्षा, स्वास्थ्य, रोजगारी, सुशासन र सामाजिक न्याय हो, त्यसका लागि सङ्गठित राजनीतिक इच्छाशक्ति र स्पष्ट कार्य योजना अपरिहार्य छ ।”
अध्यक्ष राईले देशैभरि पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा प्रति ठुलो जनलहर रहेको दाबी गर्दै भने,“प्रचण्ड को हुन र के हुन भन्ने कुरा बुझ्न जरुरी छ ।’ उनले नेकपा संसदमा पुगेपछि बेलायत सरकारसँग गोर्खाहरूको समस्या समाधानका लागि प्रखर रूपमा कुरा राख्ने र निर्णायक पहल गर्ने बताए ।
पूर्व ब्रिटिस गोर्खाहरूको दीर्घकालीन मागहरू
गेसो अध्यक्ष राईले भूतपूर्व ब्रिटिस गोर्खाहरूका दीर्घकालीन मागहरू पनि सार्वजनिक गरे । २२ वर्ष सेवा पूरा गरेका बेलायती गोर्खाले अन्य ब्रिटिस सिपाहीसरह पूर्ण निवृत्तिभरण पाउनुपर्ने,१६ वर्ष सेवा गरेका गोर्खा अधिकृतले समान दर्जा अनुसार पूर्ण पेन्सन पाउनुपर्ने छन् ।
साथै १५ वर्ष सेवा गरेका गोर्खाले समानुपातिक निवृत्तिभरण पाउनुपर्ने,युद्धमा मृत्यु, घाइते र अशक्त भएका गोर्खाले ब्रिटिस सरह अपाङ्ग, विधवा र आश्रित पेन्सन पाउनुपर्ने,सन १९७५ अघि बर्खास्त गरिएकालाई एकमुष्ट क्षतिपूर्ति, सन् १९७५ पछि सेवा गरी पेन्सन नपाएकालाई सञ्चित पेन्सन,ब्रिटेनमा नेशनल इन्स्योरेन्स तिरेका गोर्खालाई स्टेट पेन्सन दिइनु पर्ने माग छ ।
ऐतिहासिक अन्यायको क्षतिपूर्ति,मृत्यु भइसकेका गोर्खाका सन्तानलाई ,नेपालमै समान मेडिकल सुविधा,३० वर्ष माथिका सन्तानलाई बेलायती आवासीय हैसियत,भूतपूर्व गोर्खा र परिवारलाई ९० दिन नेपाल बसोबास सुविधा,गोर्खा पेन्सन नेपाल राष्ट्र बैङ्कमार्फत भुक्तानी व्यवस्था गरिनु पर्ने माग पनि छ ।
राईले यी सबै मागहरू आफू सांसद भएपछि मात्र संस्थागत रूपमा पुरा गर्ने प्रतिबद्धता समेत व्यक्त गरे। राई नेकपाको समानुपातिक उम्मेदवार समेत हुन ।