इटहरी : नेकपा (एमाले) सुनसरी जिल्ला सदस्य तथा इटहरी उपमहानगरपालिका वडा नम्बर १७ का वडा अध्यक्ष प्रभात आचार्य कारबाहीमा परेका छन् । पार्टीको नीति विपरीत गतिविधि गरेको भन्दै आचार्यलाई कारबाही गरिएको हो । 
आचार्यका छोरा आदित्य आचार्य सुनसरी २ बाट राष्ट्रिय निर्माण दलबाट उम्मेदवार बनेपछि एमाले सशङ्कित बनेको छ । यस अगाडि माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका आचार्यले २०७९ को स्थानीय तह निर्वाचनमा वडाध्यक्षमा विजयी भएका हुन् । 
दुई पटक सम्म  स्पष्टीकरण सोध्दा समेत अटेर गरेको भन्दै पार्टी सदस्य समेत नरहने गरी कारबाही गरिएको जनाइएको छ ।
एमाले सुनसरीका कार्यवाहक अध्यक्ष पर्शुराम यादवले कारबाहीको पत्र पठाउँदै पार्टी विधानको धारा ८ को उपधारा १ ख) बमोजिम जिल्ला कमिटी सदस्य साथै पार्टी सदस्यता समेत नरहने कारबाही गरिएको उल्लेख गरेका छन् । 
कोशी प्रदेश कमिटी विराटनगर,जिल्ला कमिटी सङ्गठन विभाग र इटहरी उपमहानगर कमिटीलाई बोधार्थ सहित कारबाहीको पत्र थमाइएको हो ।