इटहरी : श्रम संस्कृति पार्टीका अध्यक्ष सुनसरी १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार हर्क साम्पाङको पछिल्लो अभिव्यक्ति प्रति नेपाल पत्रकार महासङ्घ सुनसरीले खेद व्यक्त गरेको छ । विगत देखि नै समग्र पत्रकारितामाथि अपमानजनक ढङ्गले अभिव्यक्ति दिने गरेकोप्रति महासङ्घले भर्त्सना गरेको हो । 
पछिल्लो समय धरानबाट सञ्चालित अनलाइन पोर्टल कपुरी न्युज डटकमलाई जोडेर ‘पत्रकारिता नै सिद्ध्याइदिन्छु’ भन्दै दिएको धम्की निन्दनीय भएको महासङ्घले बताएको छ । सचिव विनय बाह्रकोटी द्वारा जारी वक्तव्यमा साम्पाङले यसअघि पनि बारम्बार धरानमा सक्रिय पत्रकारलाई लक्षित गर्दै अशोभनीय  अभिव्यक्ति दिने गरेको हुँदा महासङ्घ सुनसरीको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।
‘प्रतिनिधिसभा सदस्यजस्तो गरिमामय पदमा उम्मेदवार दिएको व्यक्तिबाट लोकतन्त्रको आधार स्तम्भ मानिएको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको घाँटी निमोठ्न खोज्नु आपत्तिजनक छ । आलोचना र प्रश्न पत्रकारिताको धर्म भएकाले आफ्नो विगत र वर्तमानको यथार्थता बाहिर आएकै कारण समग्र पेसागत सुरक्षामा चुनौती हुने गरी साम्पाङले दिने गरेका अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको छ,’ वक्तव्यमा उल्लेख छ । 
साम्पाङको अलोकतान्त्रिक र अमर्यादित गतिविधि नसच्याए नेपाल पत्रकार महासङ्घ सुनसरीले थप आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । साम्पाङले दिइएको असंवैधानिक र अवाञ्छित अभिव्यक्तिको छानबिन गरी कारबाही गर्न निर्वाचन आयोग र प्रशासनसमक्ष महासङ्घले जोडदार माग गरेको छ । यसअघि साम्पाङ कै कारण खोज पत्रकारिता गरिरहेका पत्रकार गोपाल दाहाल धरानबाट विस्थापित भएका थिए ।