धरान : धरानका पूर्व नगर प्रमुख हर्क साम्पाङ सहित उनका समर्थकहरू विरुद्ध साइबर अपराध र चुनाव प्रचारमा बालबालिका प्रयोग गरेको आरोपमा कारबाहीका लागि उजुरीहरू दर्ता भएको बताइएको छ । 
बाल सञ्जाल धरान नगर प्रतिनिधि रोजन शङ्कर र नगर अध्यक्ष मानव विश्वकर्माले फागुन १ गते शुक्रवार निर्वाचन आयोग केन्द्रीय कार्यालय र नेपाल प्रहरी साइबर ब्युरो, भोटाहिटी काठमाण्डौंमा औपचारिक रूपमा उजुरी दर्ता गरिएको बताएका हुन । 
साइबर अपराधको उजुरीमा फेसबुक, मेसेन्जर, टिकटक लगायत सामाजिक सञ्जाल प्रयोग गरी योजनाबद्ध भिडियो, स्ट्याटस र डिजिटल सामग्री सार्वजनिक गर्दै व्यक्तिको प्रतिष्ठामाथि आक्रमण गरिएको, गलत सूचना फैलाइएको र समाजमा भ्रम सिर्जना गरिएको आरोप लगाइएको छ ।
‘हर्क साम्पाङ ए रेभुलेसन’ नाममा सञ्चालित सामाजिक सञ्जाल अकाउन्ट मार्फत लक्षित आक्रमण, अपमानजनक भाषा प्रयोग, भ्रामक सामग्री उत्पादन तथा डिजिटल प्लेटफर्मको दुरुपयोग गरिएको उजुरीमा उल्लेख छ । 
उजुरीमा संलग्न अकाउन्ट, पेज र डिजिटल सामग्रीको प्राविधिक अनुसन्धान गरी दोषी पहिचान गरेर कानुनी कारबाही गर्न माग गरिएको छ ।
यसै गरी धरान नगर बाल सञ्जाल प्रतिनिधि राजन शङ्करले निर्वाचन आयोगमा दर्ता गराएको उजुरीमा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा उम्मेदवार साम्पाङले चुनावी प्रचार प्रसारमा बालबालिकाको प्रयोग गरेको आरोप लगाएका छन् ।
उजुरीमा बालबालिका ऐन,२०७५ को परिच्छेद २,दफा ७,उपदफा ७ अनुसार बालबालिकालाई राजनीतिक उद्देश्यका लागि प्रयोग गर्न नपाइने स्पष्ट व्यवस्था रहेको उल्लेख छ । साथै निर्वाचन आचारसंहिता २०८२ को दफा ३ (खण्ड झ र ञ), दफा ४ खण्ड छ र दफा १३ खण्ड ट अनुसार निर्वाचन प्रचारप्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न नहुने व्यवस्था उल्लङ्घन भएको दाबी गरिएको छ ।
निवेदनमा सामाजिक सञ्जाल, सार्वजनिक कार्यक्रम तथा प्रचार सामग्रीमा बालबालिकाको प्रयोग गरिएको तस्बिरहरू प्रमाणका रूपमा संलग्न गरिएको छ । साथै सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पेश गरिएको निवेदनको प्रतिलिपि र नागरिकताको प्रतिलिपि पनि प्रमाणका रूपमा बुझाइएको छ ।