धरान : इटहरीको सोल्टी वेस्टेण्डमा चैत १४ गते इस्टर्न ट्राभल मार्ट उद्घाटन कार्यक्रम भयो । प्रमुख अतिथिको रूपमा निमन्त्रणा गरिएका मुख्यमन्त्री हिक्मतकुमार कार्की नै आएनन् । पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीले कार्यक्रमको उद्घाटन गरे ।

मार्टलाई स्थानीय तहको रूपमा सहयोग गरेको इटहरी उपमहानगरपालिकाका जनप्रतिनिधिको नगन्य उपस्थिति देखियो । मेयर हेमकर्ण पौडेल र उपमेयर सङ्गीता कुमारी चौधरी दुवै जना कार्यक्रममा सहभागी भएनन् । अघिल्लो वर्ष सम्पूर्ण वडाध्यक्ष सहित पुगेका पौडेल यस पटक कार्यक्रम स्थलमै प्रवेश गरेनन् । मेयर मात्र हैन इटहरी र धरानका अन्य पर्यटन व्यवसायीको उपस्थिति समेत नगन्य थियो । उद्घाटन सत्रमै पर्यटनकर्मी र अभियन्ताहरूको असन्तुष्टि देखियो ।

अघिल्ला बर्सहरूमा भन्दा फितलो व्यवस्थापन भएको कार्यक्रममा सहभागीको सङ्ख्या देखि सजावट सम्म कमजोर रह्यो । नेपाल पर्यटन बोर्डको २८ लाख र इटहरी उपमहानगरपालिकाको ५ लाख सहयोगमा कार्यक्रम आयोजना गरिएको हो । अघिल्लो वर्ष ४० लाख बजेट भएको र यस पटक जम्मा ३३ लाख मात्र भएकाले केही कमजोरी भएको हुनसक्ने आयोजकको दाबी छ ।

आयोजक समितिले बोर्डबाट आउने सहयोग कम हुँदै गएपछि वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरलाई सम्मान गर्‍यो । पूर्वी क्षेत्रको पर्यटकीय गतिविधि बढाउने उद्देश्यले आयोजना गरिएको मार्टमा पर्यटन व्यवसायी बिचमा नै एकता देखिएको छैन । भारत र भुटानबाट समेत अतिथि बोलाइएको अवस्थामा देखिएको आन्तरिक किचलोले नयाँ पर्यटन अभियन्ताहरू निराश भएका छन् ।

कोशी प्रदेशको मुख्यतः धार्मिक तथा साहसिक पर्यटकीय क्षेत्रमा भारतीय पर्यटकलाई भित्राउन ल्याउने उद्देश्य रहेको बताइएको छ । नेपालका अन्य प्रदेशबाट पनि पर्यटनकर्मीको सहभागिता हुने भएकाले कोशी प्रदेशको प्रचारप्रसारमा यसले टेवा पुर्याउने विश्वास आयोजकको छ ।

छैटौँ संस्करणको मार्टमा पर्यटन व्यवसायका केही स्टलहरू राखिएका थिए । १५ गते बिजनेस टु बिजनेस कार्यक्रम र केही अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भयो । १६ गते कोसी टप्पुको निरीक्षण गर्दै कार्यक्रम समापन गरिएको हो । कोशी प्रदेश सरकारको पर्यटन वर्ष असफलता सँगै मार्टमा समेत आकर्षण नदेखिएको हो ।

travel mart