इटहरी : इटहरी उपमहानगरपालिकामा दमकल अभावको विषय चर्किएको छ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा तीन वटा दमकल जलेपछि इटहरीमा हुने आगलागी नियन्त्रण जोखिमयुक्त बन्दै गएको छ । चैत १३ गते पूर्वाञ्चल आइसक्रिम पार्लरमा लागेको आगो निभाउन छिमेकी पालिकाबाट दमकल झिकाउनु पर्‍यो । इटहरी उपमहानगरपालिकाको आफ्नो दमकल नहुँदा आगो नियन्त्रणमा ढिलाइ भयो ।

गतबर्ष चैत ११ गते इटहरीको सेन्ट्रल प्लाजामा आगालागि हुँदा समेत झनै ठुलो समस्याको सामना गर्नु पर्‍यो ।  त्यसबेला दमकल भएपनि अग्लो भवन भएकाले समस्या भएको थियो । प्रत्येक वर्ष जसो हुने ठुला आगलागीका घटनाको नियन्त्रणमा समस्या भइरहेको छ ।

पछिल्लो आगलागी पछि केही अभियन्ताहरू पैसा उठाएरै भएपनि दमकल किन्ने ध्याउन्नमा छन् । मेयर हेमकर्ण पौडेलले भने उपमहानगरपालिकाले आफै दमकल खरिद गर्ने जनाएका छन् ।

तर दमकल खरिद गर्नेगरी उपमहानगरपालिका सँग बजेट अभाव देखिएको छ । यसअघि खरिद भएका सवारीसाधन र सम्पन्न भएका आयोजनाको भुक्तानी नहुँदा समस्यामा छ उपमहानगरपालिका । त्यस बाहेक उपमहानगरपालिकाले सुरुवात गरेका आयोजनाहरू पैसाकै अभावमा अलपत्र छन्।

नगर विकास कोषको ७० प्रतिशत सहयोग र इटहरी उपमहानगरपालिकाको ३० प्रतिशत लगानीमा बसपार्क निर्माण सम्पन्न भइसकेको छ । ९ करोड ४४ लाखमा श्रीमान् आशीर्वाद अर्थ जेभीसँग सम्झौता भएको काम २०८१ साल पुसमा नै सम्पन्न भइसकेको हो । असार १६ गतेसम्मको म्याद भएपनि ६ महिना अगाडी नै निर्माण कम्पनीले काम सकेको हो । उपमहानगरपालिकाले पनि बसपार्कलाई स्वामित्वमा ल्याएर सञ्चालनको लागि ठेक्का लगाइसकेको छ ।

निर्माण व्यवसायी नवीन गौतमका अनुसार ३ करोड बढी भुक्तानी बाँकी रहेकाले कम्पनीलाई समस्या परिरहेको छ । म्याद अगावै सम्पन्न भएकाले बोनस सहित जम्मा १० करोड १३ लाखको दाबी कम्पनीले गरेको छ । हालसम्म ६ करोड २० लाख भुक्तानी भएको र ३ करोड ९३ लाख भन्दा बढी रकम बाकी रहेको गौतमको भनाइ छ ।

अर्कातर्फ इटहरी उपमहानगरपालिकाले खरिद गरेको नगर बसको समेत भुक्तानी भइसकेको छैन । खरिद प्रक्रिया देखि नै विवादित बन्दै आएको बस ६ करोड ३६ लाख ८६ हजार ८ सयमा खरिद गरिएको हो । नेशनल फायर सेफ प्रालीले खरिदको जिम्मा पाएपनि भुक्तानी पाउन सकेको छैन । हालसम्म १ करोड २८ लाख ८१ हजार रकम कम्पनीले प्राप्त गरेको छ । उपमहानगरपालिका सँग पर्याप्त बजेट नभएको कारण थप ५ करोड ८ लाख ८ हजार रकम भुक्तानी हुन सकेको छैन ।

बसपार्क र नगर बसको मात्र जम्मा ९ करोड बढी भुक्तानी बाँकी छ । विगतका खरिद र फितलो बजेट व्यवस्थापनको कारण उपमहानगरपालिका दमकल किन्न नसक्ने अवस्थामा पुगेको हो ।

itahari-city-Bus 1buspark-2