इटहरी : इटहरी उपमहानगरपालिका भित्र विगत दुई वर्षदेखि बजेट नीति तथा कार्यक्रमलाई लिएर समस्या बढ्दै गएको छ । समयमै बजेट नल्याउने देखि बजेट प्रस्तुतकर्ता उपमेयरको असहमतिमै बजेट पास गर्ने सम्मका गतिविधि विगतका वर्षहरूमा भइरहेका छन् ।

महत्त्वाकाङ्क्षी बजेट प्रस्तुत गर्ने तथा कार्यान्वयन पक्ष फितलो भइरहेको अवस्थामा उपमहानगरको कामकारबाही माथि प्रश्न उठिरहेको छ । अनावश्यक खरिद देखि उपभोक्ता समितिको भुक्तानीलाई लिएर बारम्बार विवाद हुने गरेको छ । कर्मचारी संयन्त्रमा देखिएको खटपटले समेत उपमहानगरको कार्यसम्पादनमा समस्या निम्तिएको हो ।

गत आर्थिक वर्ष २०८१/०८२ मा बजेट अधिवेशन पछि नगर सभा नै बोलाइएन । बजेट पास गर्ने समयमा नेकपा एमालेका नगर सभा सदस्यहरू विभाजित बनेको अवस्थामा त्यसपछि कुनै पनि छलफल हुन सकेन । अघिल्लो आर्थिक वर्ष पछि एकैपटक अर्को बजेट प्रस्तुत गर्न नगर सभा बोलाइयो ।

चालु आर्थिक वर्ष २०८२/०८३ मा पनि सोही समस्या देखा पर्‍यो । उपमेयर सङ्गीता कुमारी चौधरी लगायत एमालेका नगर सभा सदस्यहरूले अनुसूची बिनाको बजेट पास गर्न नसकिने भन्दै विरोध जनाए । सामान्य विषयमा गलफती हुँदा उपमहानगरपालिकाको जिम्मेवारी भन्दा अन्य विषयमा ध्यान मोडियो ।

बजेट नीति तथा कार्यक्रम पास भए पनि कार्यान्वयन पक्षमा भने उपमहानगर झनै फितलो देखिँदै आएको छ । सोही विषयमा नगर सभा सदस्यले प्रश्न गर्ने भएपछि उपमहानगरले नगर सभा छल्दै आएको हो । नगर सभा समयमा सुरु नगर्ने, बोलाएर स्थगित गर्ने देखि राती अबेरसम्म नगर सभा बैठक राखेर ध्यान मोड्ने काम उपमहानगरपालिकाको नेतृत्वले गरिरहेको छ ।

जेनजी आन्दोलन पछि दुई पटक बसेको कार्यपालिका बैठकले कर्मचारी सुरुवा र प्रहरी कार्यालय पुनर्निर्माण बाहेक दीर्घकालीन निर्णय गर्न सकेन । आन्दोलन पछि थलिएको कार्यपालिका, नष्ट भएका भौतिक संरचना, जलेका डकुमेन्टको तथ्याङ्क सङ्कलनका विषयमा गम्भीर छलफल भएको छैन ।

प्रत्येक वर्ष बेरुजु बढ्दै गइरहेको र कार्यकाल सकिनै लागेको अवस्थामा उपमहानगरपालिका नेतृत्वले नगर सभा छलेको आरोप लागेको छ । उपमेयर चौधरीका अनुसार यस पटक नगर सभा बोलाउने तयारी भइरहेको बताइन् । आफूहरूले बारम्बार कार्यपालिका र नगर सभा बैठकको विषयमा ताकेता गरे पनि मेयर हेमकर्ण पौडेलले सुनुवाइ नगरेको उनको गुनासो छ । पुसमा मसान्त सम्ममा नगर सभा बसेर बजेट नीति तथा कार्यक्रम संशोधन गर्न सकिने भए पनि मेयर पौडेलले चासो नदिएको उनको भनाइ छ ।

संवैधानिक रूपमा वर्षमा दुई पटक नगर सभा बस्नुपर्ने प्रावधान भए पनि इटहरी उपमहानगरपालिकाले कार्यान्वयन गरेको छैन । वडा नम्बर ९ का वडाध्यक्ष जितेन्द्र थापाले नगर सभा बोलाउने बारे छलफल भइरहेको बताए । किन र के कारणले नगर सभा नबोलाइएको आफूलाई जानकारी नभएको उनको गुनासो छ ।