धरान : धरान उपमहानगरपालिकामा गौरवको आयोजना मानिएको श्रम संस्कृति पार्कको व्यवस्थापन, राजस्व सङ्कलन र खर्च प्रणालीमा महालेखा परीक्षकको वार्षिक प्रतिवेदनले गम्भीर प्रश्न उठाएको छ ।
प्रतिवेदनले सबैभन्दा गम्भीर विषयका रूपमा राजस्व दाखिला ढिलाइलाई औँल्याएको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ अनुसार सरकारी रकम प्राप्त भएकै दिन वा भोलिपल्ट बैङ्कमा दाखिला गर्नुपर्ने व्यवस्था भए पनि ७४ हजार ५ सय रुपैयाँ अझै बैङ्कमा दाखिला हुन बाँकी रहेको पाइएको छ ।
महालेखाले उक्त रकम जिम्मेवार व्यक्तिबाट ब्याज सहित असुल गरी सरकारी कोषमा जम्मा गर्न निर्देशन दिएको छ । साथै उल्लेख्य आम्दानी भए पनि केही रकम सरकारी नियम विपरीत खर्च गरिएको प्रतिवेदनले देखाएको छ ।
आर्थिक वर्ष २०८१/०८२ को लेखा परीक्षण अनुसार पार्कले प्रवेश शुल्कबाट मात्रै ९८ लाख २१ हजार ५ सय ६० रुपैयाँ आम्दानी गरेको उल्लेख छ ।
आर्थिक वर्ष २०८१/०८२ को प्रारम्भिक प्रतिवेदनले पार्कभित्र दोहोरो टिकट काउन्टर सञ्चालनदेखि राजस्व दाखिला र खर्च व्यवस्था सम्ममा प्रश्न गर्दै कमजोरी औँल्याएको हो ।
प्रतिवेदन अनुसार आर्थिक ऐन २०८१ बमोजिम पार्क प्रवेशका लागि प्रतिव्यक्ति १५ रुपैयाँ तथा बाल उद्यान र रक गार्डेनका लागि २० रुपैयाँ शुल्क लिइँदै आएको छ । 
तर एउटै पार्कभित्र दुई वटा छुट्टाछुट्टै टिकट काउन्टर सञ्चालन गर्दा अनावश्यक सञ्चालन खर्च बढ्ने देखिएकाले एउटै काउन्टरबाट शुल्क उठाउने व्यवस्था मिलाउन महालेखाले निर्देशन दिएको छ ।
आर्थिक वर्ष २०८१/०८२ को लेखा परीक्षण अनुसार पार्कले प्रवेश शुल्कबाट मात्रै ९८ लाख २१ हजार ५ सय ६० रुपैयाँ आम्दानी गरेको उल्लेख छ ।
नियम विपरीत खर्च र सञ्चित कोषको बेवास्ता
प्रतिवेदनअनुसार स्थानीय तहले सङ्कलन गर्ने सबै शुल्क तथा दस्तुर आन्तरिक राजस्व खाता वा सञ्चित कोषमा जम्मा गर्नुपर्ने कानुनी व्यवस्था छ । तर धरान उपमहानगरपालिकाले श्रम संस्कृति पार्कबाट उठेको रकम सिधै विविध कोष खातामा जम्मा गरी आवश्यकता अनुसारका कार्यक्रममा खर्च गरेको पाइएको छ ।
महालेखाले यस्तो कार्यलाई नियम विपरीत ठहर गर्दै आम्दानी रकम अनिवार्य रूपमा उपमहानगरपालिकाको सञ्चित कोषमा दाखिला गरी प्राथमिकताको आधारमा बजेट विनियोजन गरेर मात्रै खर्च गर्ने व्यवस्था मिलाउनुपर्ने उल्लेख गरेको छ ।
पार्कको वित्तीय अवस्था :
महालेखाको प्रतिवेदनले पार्कको समग्र आर्थिक अवस्थाबारे पनि विवरण सार्वजनिक गरेको छ । गत वर्षको मौज्दात९ लाख १७ हजार ६२१ र यस वर्षको आम्दानी ९८ लाख २१ हजार ५६०, कुल खर्च ८ करोड ३६ लाख ४६ हजार ०८६ र चालुतर्फ ३ं दशमलव.४४ करोड र पुँजीगततर्फ ४दशमलव ९२ करोड गरी बाँकी मौज्दात २ करोड ३७ लाख ४५ हजार २३२ उल्लेख छ । 
महालेखा परीक्षकको प्रतिवेदनले श्रम संस्कृति पार्कको राजस्व सङ्कलन, खर्च प्रणाली र व्यवस्थापनलाई पारदर्शी तथा नियम अनुकूल बनाउन तत्काल सुधारात्मक कदम चाल्न आवश्यक रहेको औँल्याएको छ ।
parka-sulka