धरान : धरान उपमहानगरपालिकाले गएको ३ वर्ष लागु औषध दुर्व्यसन विरुद्ध जनचेतनाका थुप्रै जुलुस प्रदर्शन गर्दै आए पनि भित्रभित्रै समस्या भने विकराल बन्दै गएको पाइएको छ ।
कार्यवाहक मेयर अईन्द्र विक्रम बेघाको उपस्थितिमा बिहीबार एक कार्यक्रम बिच एचआईभि रोकथाम कोशी प्रदेश कन्सल्टेन्ट रोमन राईले धरानमा लागु औषध दुव्यर्सनबाट एचआइभी सङ्क्रमित भएकाको सङ्ख्या ११ सय पुगेको तथ्याङ्क सार्वजनिक गरे ।
उनका अनुसार उक्त सङ्ख्या मध्ये ६८३ जना मात्र सङ्क्रमितहरूले पाउने जीवनदायी एआरटी सेवा लिइरहेका छन् । अन्य ४ सयभन्दा बढी उपचारबाट वञ्चित छन् ।तथ्याङ्क अनुसार यस अवधिमा ११ जनाको मृत्यु भैसकेको छ । 
तथ्याङ्क अनुसार धरानमा ३ हजार ५०० जना लागु औषध प्रयोगकर्ता रहेका छन् । 
लागु औषध दुर्व्यसन,एचआइभी सङ्क्रमणका बारेमा नाराबाजी, जुलुस प्रदर्शनहरू धेरै भएता पनि राज्यको नीति निर्माण र कार्यान्वयन तह सम्म पहुँच नहुँदा समस्या झन् झन् विकराल हुँदै गएको कार्यक्रममा सरोकारवालाहरूले ध्यानाकर्षण गराएका थिए ।  
उनीहरूले राष्ट्रिय एचआइभी रोकथाम रणनीति, लागु औषध नियन्त्रण ऐन र लागु औषध नियन्त्रण राष्ट्रिय योजना सम्बन्धी निर्देशिका कार्यान्वयन नहुँदा सङ्क्रमितहरूले उपचार नपाई रहेको, दुर्व्यसन विरुद्धका कार्यक्रम प्रभावकारी बन्न नसकेको बताए ।
कार्यक्रमका बिच राष्ट्रिय एचआइभी तथा एड्स महासङ्घको समन्वयमा सरोकारवाला निकायहरूले निर्देशिकाको मस्यौदा स्थानीय सरकारकारका कार्यवाहक प्रमुख बेघालाई बुझाउँदै तत्काल कार्यान्वयनको माग गरेका हुन ।
निर्देशिका बुझ्दै कार्यवाहक प्रमुख बेघाले निर्देशिका निर्माण प्रक्रिया कानुन मस्यौदा समितिबाट सुरु भएर कार्यपालिकाले अपनत्व ग्रहण गरेपछि नगर सभामा प्रस्तुत गरिने वचन दिएका छन् । 
बेघाले भने ‘एचआइभीको क्षेत्रमा यसअघि सीमित सहयोग दिइँदै आएको थियो, अब सबै सरोकारवालालाई समावेश गर्दै कार्यक्रमलाई प्रभावकारी बनाउने छौँ ।’ उनले निर्देशिकालाई संवेदनशील विषयको रूपमा लिएर सम्बन्धित शाखाहरूसँग छलफल गरी छिटो कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए । 
संविधान र प्रचलित कानुनले दिएको अधिकार प्रयोग गर्न कसैको अनुमति आवश्यक नपर्ने भएकोले सरोकारवालाहरूलाई दृढतापूर्वक अघि बढ्न आग्रह गरे ।
प्रदेश कन्सल्टेन्ट रोमन राईबाट प्रस्तुत तथ्याङ्कमा नेपालमा ३० हजार ३०० एचआइभी सङ्क्रमित छन् । त्यस मध्ये २४ हजार ७९३ जना मात्र एआरटी सेवा लिइरहेका छन् । ५ हजार ५७० जना अझै उपचार पहुँच भन्दा बाहिर छ । 
उनले निर्देशिकाले स्थानीय तहलाई सार्वजनिक स्वास्थ्य, रोग नियन्त्रण, जनस्वास्थ्य संरक्षण र लागुऔषध र एचआइभी रोकथाम कार्यक्रम सञ्चालन गर्ने कानुनी जिम्मेवारी दिएको बताए ।
एचआईभि एड्स तथा लागु औषध दुर्व्यसन रोकथाम कार्य सञ्चालन निर्देशिका २०८२ मा उच्च जोखिममा पर्ने समूहमा सुई प्रयोगकर्ता, यौनकर्मी, ट्रान्सजेन्डर र वैदेशिक रोजगारीमा जाने कामदारहरू रहेका छन्। नेपालमा करिब १,३०,००० लागु औषध प्रयोगकर्ता रहेका अनुमान गरिँदा, धरानमा मात्र ३ हजार ५०० जना प्रयोगकर्ता रहेको तथ्याङ्कले समस्या गम्भीर भएको देखाउँछ ।
धरान उपमहानगरपालिकाले निर्देशिकामा उल्लेखित राष्ट्रिय एचआइभी रोकथाम रणनीति, २०२१–२०२६, लागु औषध नियन्त्रण ऐन, २०३३ र लागु औषध नियन्त्रण राष्ट्रिय योजना,२०२३–२०२८ सँग समन्वय गर्दै कार्यक्रम सञ्चालन गर्ने जानकारी दिएको छ। निर्देशिकामा स्थानीय तहलाई सार्वजनिक स्वास्थ्य प्रवर्द्धन, रोग नियन्त्रण, जनस्वास्थ्य संरक्षण तथा लागु औषध र एचआइभी एड्स रोकथाम कार्यक्रम सञ्चालन गर्ने कानुनी जिम्मेवारी उल्लेख छ।
उपमहानगरपालिकाले यस निर्देशिकालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै स्वास्थ्य, सामाजिक र आर्थिक दृष्टिले समुदायमा सकारात्मक प्रभाव पार्ने लक्ष्य राखेको छ।धरानमा एचआईभी एड्स र लागु औषध दुर्व्यसनको समस्या बढ्दै गएसँगै निर्देशिका–२०८२ कार्यान्वयनका लागि सरोकारवालाहरूले दबाब दिएका छन् ।