धरान : पोलिक्लिनिक भनेको विशेषज्ञ चिकित्सकहरूले बिरामी मानिसको तत्कालीन परीक्षण,उपचार,औषधि सेवा प्रदान गर्ने अस्पताल भन्दा सानो क्लिनिक बुझिन्छ । त्यहाँ पशुपक्षी भेटनरीको काम हुँदैन भन्ने सामान्य मानिसले पनि बुझेका हुन्छन् ।
धरानको एक पोलिक्लिनिकमा भने मानिसको मात्र होइन कुकुरको पनि दैनिक उपचार हुने गरेको पाइएको छ । मानिस र पशुको उपचार एकै ठाउँ गर्ने लाइसेन्स पाए सरह सञ्चालन भइरहेको क्लिनिक धरान–१२ स्थित सुनसरी पोलिक्लिनिक एण्ड डाइग्नोसिस सेन्टर प्रा.ली हो ।
उक्त पोलिक्लिनिकमा आज शनिवार बिहान ११ बजे कुकुरको उपचार गरिरहेको पाइएको हो । कुकुर धनीले पोलिक्लिनिकमा कुकुरको एक्स–रे र उपचार गरिएको बताएका छन् ।
सञ्चालक लालुप्रसाद यादवसँग भेटनरीमा गरिनु पर्ने कुकुरको उपचार यहाँ किन भनी सोध्दा उनले भने ‘मान्छे पनि एनिमल नै हो ।’ पोलिक्लिनिक सञ्चालक यादवले क्लिनिकलाई पशु उपचार गर्ने अनुमति नभएको बताउँदै मानवीयताको आधारमा कुकुरको उपचार गरिएको बताए ।
उनको तर्क छ “मान्छे पनि एनिमल नै हो,तपाईको कुकुरलाई आपत् पर्यो भने हामी उपचार गर्छौँ,धरानमा एनिमल उपचार गर्ने स्थान नभएकोले गरेका हौं ।’
सञ्चारकर्मीले सञ्चालक यादवसँग पोलिक्लिनिकको अनुमति पत्र देखाउन आग्रह गर्दा उनले ठाडै भने ‘म देखाउँदिन, मेडिकल विभागलाई माग्नु, नत्र उतै मुद्दा लगाउनु ।” सञ्चालक यादवले जनावरको उपचार गर्ने भेटनरी अस्पताल धरान र इटहरी क्षेत्रमा नभएकोले आपतकालीन अवस्थामा कुकुरको एक्स–रे गरिदिएको बताए ।
दैनिक कुकुर उपचार हुन्छ
पोलिक्लिनिकमा कार्यरत कर्मचारीहरूले कुकुरको उपचार दैनिक जसो हुने गरेको बताएका छन् ।
उनीहरूलाई “यो मान्छे उपचार गर्ने ठाउँ हो कि कुकुर उपचार गर्ने ?”प्रश्न गर्दा जवाफमा भने ‘खै हामी त कर्मचारी मात्र हौं,पोलिक्लिनिक मालिकले गर्नु भनेपछि गर्नु नै पर्यो तर यहाँ दैनिक कुकुरको उपचार हुन्छ ।”उनीहरूले क्लिनिकमा हुने गैर कानुनी,अवैध कार्यमा पोलिक्लिनिकका मालिक जिम्मेदार रहेको बताए ।
गैर कानुनी हो, कारबाही गछौं
धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले मानिस उपचार हुने स्थानमा पशुपन्छीको उपचार गर्न नपाइने बताएका छन् ।
उनले भने“मानिस उपचार हुने स्थानमा पशुपन्छीको उपचार गर्न पाइँदैन, त्यो स्वास्थ्य ऐन विपरीत हुन्छ। यस्तो गतिविधि भेटिए अनुसन्धान गरी तुरुन्त कारबाही गर्छौँ ।’ भेटनरीको लाइसेन्स प्राप्त संस्थाले मात्र पशुपन्छीको उपचार गर्न पाउने उनको भनाई छ ।
मानव स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य संस्थामा पशु उपचार गरिएको घटनाले धरानमा सञ्चालनमा रहेका क्लिनिकहरूको विश्वसनीयताका साथै स्वास्थ्य मापदण्ड र कानुनी व्यवस्थामा प्रश्न उठाएको छ ।