धरान : याक्थुङ चलचित्रकर्मी सङ्घ नेपालको दोस्रो अधिवेशन उद्घाटन समारोहमा आज शनिवार  लिम्बु जातिको  पहिलो चलचित्र नायिका शोभा खजुमलाई सम्मान गरेको छ ।
धरान–८ सहिद स्कुल भवनमा भएको अधिवेशनमा चलचित्र क्षेत्रमा योगदान पुर्‍याएका चन्द्र ध्वज बेघा तथा खेलाडी एवं चलचित्र निर्देशक किशोर सम्बाहाम्फे लगायतलाई सङ्घले सम्मान गरिएको हो । 
सोही अवसरमा चलचित्र पत्रकार मनोज दाहाल सम्मानित भएका छन् ।  सङ्घले आफ्ना आजीवन सदस्यहरूलाई पनि सम्मानित गरेको छ । 
सम्मानितहरूलाई  प्रमुख अतिथि कोशी प्रदेशका सांसद रमेश बस्नेतले सम्मान पत्र प्रदान गरे । उनले बहुभाषिक, बहु धार्मिक तथा बहु सांस्कृतिक पक्षको संरक्षण र संवर्द्धनमा प्रदेश सरकार सक्रिय रहेको बताए ।
सांसद बस्नेतले कोशी प्रदेश सभामा  भाषा आयोगको सिफारिस अनुसार लिम्बु र मैथिली भाषालाई सरकारी कामकाजको भाषा बनाउने सम्बन्धी ऐन दर्ता भई छलफलको चरणमा रहेको जानकारी दिए ।
समारोहमा वरिष्ठ कलाकार तथा निर्देशक प्रेम सुब्बालगायत याक्थुङ चलचित्रकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
 अध्यक्षता सङ्घका अध्यक्ष नवीन मेन्याङ्बोले गरेका थिए । कार्यक्रममा लिम्बु भाषाका गीत सङ्गीत प्रस्तुत गरिएको थियो । 
आजै अधिवेशनबाट नयाँ कार्यसमिति चयन हुने अध्यक्ष मेन्याङवोले जानकारी दिएका छन् ।
yakthum-1
limbu
yakthum-chalchitra