इटहरी : नेपाली काँग्रेसका नेता विजय कुमार गच्छदारले अन्तीमपटक भनेर मत मागेको प्रतिनिधिसभा निर्वाचनमा हार बेहोरेका छन् । मतदाताको सान्त्वना पाउन आठौँ पटक अन्तिम पटक भन्दै मत मागेर विजयी बन्ने गच्छदारको योजना असफल भयो ।
सुनसरी क्षेत्र नम्बर ३ मा गच्छदारलाई पराजित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अशोककुमार चौधरी विजयी भएका छन् । यसअघि नेकपा एमालेकी उम्मेदवार भगवती चौधरीसँग पहिलो पटक पराजित गच्छदार यसपालि नयाँ उम्मेदवार सँग पराजित भए ।
२०७९ मा रास्वपाबाट समानुपातिक सांसद बनेका चौधरी पहिलो पटक निर्वाचन जितेर संसद् छिर्ने भएका छन् । दोस्रो संसदीय यात्रा तय गर्न लागेका चौधरीले निर्वाचनमा पनि सफल भए । ४२ वर्षीय चौधरीले निकटतम प्रतिस्पर्धी काँग्रेसका गच्छदारलाई २६ हजार ९ सय २० मतान्तरले पराजित गरेका हुन् ।
चौधरीले ४७ हजार ४ सय २१ मत प्राप्त गर्दा गच्छदारले २० हजार ५ सय १ मत प्राप्त गरे । तेस्रो प्रतिस्पर्धामा रहेकी एमाले उम्मेदवार भगवती चौधरीले १५ हजार ८३ मत मात्र पाइन् । २०७९ मा काँग्रेसका गच्छदारलाई पराजित गरेकी भगवती यस पटक प्रतिस्पर्धामै आइनन् ।
गच्छदारको प्रभाव क्षेत्रको रूपमा चिनिएको सुनसरी ३ मा लामो समयदेखि उनी निर्वाचित हुँदै आएका छन् । २०४८ सालदेखि निरन्तर चुनाव जित्दै आएका गच्छदार २०७९ मा पहिलो पटक र २०८२ मा दोस्रो पटक पराजित भए ।


























































