धरान : सुनसरी १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार गोमा तामाङ (सरिन)को नागरिकता र उम्मेदवारी मनोनयन पत्रमा जन्मस्थान फरक विवरण पेश गरेको पाइएको छ ।
सरिनले सुनसरी क्षेत्र १ को निर्वाचन कार्यालयमा दर्ता गराएको व्यक्तिगत विवरणमा जन्मस्थान ‘सुनसरी’ उल्लेख गरेकी छन् । नागरिकतामा भने उनको जन्मस्थान सर्लाही मुर्तिया वार्ड न २ रहेको उल्लेख छ ।
गोमा तामाङ सरिनको गलत विवरण बारे सुनसरी–१ का निर्वाचन अधिकृत दिव्यराज घिमिरेले प्रतिनिधिसभा सदस्य बन्न चाहने व्यक्तिले नै गलत विवरण पेश गर्नु उचित नहुने बताए ।
उम्मेदवारको विवरण सम्बन्धी उठेको विवादबारे सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै निर्वाचन अधिकृत घिमिरेले भने, ‘यस विषयमा जानकार थिइनँ, तर विवरण फरक रहेछ भने सम्बन्धित कार्यालयमा पठाईने पत्राचार गर्ने छु ।’
उनले उम्मेदवारले पेश गर्ने व्यक्तिगत विवरण सत्य र प्रमाणित हुनुपर्ने स्पष्ट पार्दै आवश्यक परे कानुनी प्रक्रिया अनुसार अगाडि बढ्ने बताए ।