धरान : दार्चुलामा झोलुङ्गे पुल निर्माणका नाममा छुट्टाछुट्टै रूपमा चन्दा उठाउन थालिएपछि श्रम संस्कृति पार्टीमा अभियन्ताहरू बिच विवाद बढेको छ ।
अभियानसँग जोडिएकी मिना सिङ्गकलाई आन्तरिक कारबाही गरिएको चर्चा लगत्तै उनलाई समानुपातिक सूचीबाट हटाइए पछि पार्टी छाड्नेहरू बढेको कार्यकर्ताहरू बताउँछन् ।
यसैबिच श्रम संस्कृति पार्टीका अध्यक्ष सङ्घीय सांसद हर्क साम्पाङले सामाजिक सञ्जाल फेसबुक मार्फत दार्चुला पुल अभियानका लागि सहयोग पठाउँदा सावधानी अपनाउन आग्रह गरेका छन् ।
उनले फेसबुकमा लेख्दै दार्चुला पुलका लागि सहयोग पठाउन चाहनेहरूले ९७०९०७४३५८ नम्बरमा बाहेक अन्यत्र सम्पर्क नगर्न आग्रह गरेका छन् ।
फेसबुकमै "मिना सिङ्गक हाल केही समयका लागि अभियानबाट विश्राममा रहेकाले उनको नाममा कुनै पनि सहयोग नपठाउन समेत अनुरोध" गरिएको छ।
पार्टी अध्यक्ष साम्पाङले नामै उल्लेख गरेर "विश्राम"मा रहेको भनेको कुरा पार्टीबाट कारबाही गरिएको हो ? भनी सिङ्गकसंग फोनमा प्रश्न गर्दा उनले भनिन् "कानको समस्या भएपछि घरमै आराम गरेर बसेकी मात्र हुँ ।"
उनले कारबाही भएको कुरा अस्वीकार गर्दै दार्चुला अभियानबाट अलग हुने बताउँदै भनिन् ‘बाहिर निस्कन नसकेपछि आफूले अर्को विकल्प खोज्न आग्रह गरेकोमा सोही अनुसार माननीय साम्पाङ ज्यूले अर्को विकल्प खोज्नु भएको होला ।"
सिङ्गकले आफूले हर्क साम्पाङको अभियानलाई मात्र समर्थन गरेको उल्लेख गर्दै आफू पार्टी कार्यकर्ता नभएको र पार्टीप्रति कुनै झुकाव नरहेको स्पष्ट पारिन् ।


































































