धरान : धरान १० का स्थानीयवासी महेन्द्र तामाङले वडाध्यक्ष विवेक राईले भएदेखि नै ३ बर्ष देखि कर तिर्न खोज्दा पनि राजश्व नलिएको र कर नतिरेको निहुँमा घर बहालमा बसेका व्यक्तिको व्यवसाय दर्ता नगरेर प्रतिशोध साँध्दै आएको आरोप लगाएका छन् ।
पुतली लाइन स्थित ४ तले व्यापारिक भवनका धनी तामाङले वडाध्यक्ष राईको व्यक्तिगत प्रतिशोधका कारण आफूले विगत २ वर्षदेखि कर तिर्न नपाएको बताए। घरको कर नतिरेको निहुँमा घरमा बहालमा बसेका ४ वटा व्यवसाय धराशायी बन्ने अवस्थामा पुगेको खुलासा गरेका छन् ।
तामाङका अनुसार वडा कार्यालयमा राजश्व तिर्न जाँदा वडाध्यक्ष विवेक राईले राजश्व बुझाउन रोक लगाएका छन् । भाडामा लिएका व्यवसायीहरू व्यवसाय दर्ता गर्न जाँदा कर नतिरेको भनी व्यवसाय दर्ता नवीकरण गर्दैनन् ।
उनले भने ‘दर्तावाला व्यवसायी जाँदा समेत घर बहाल कर बुझ्न नमानेकोले वडाध्यक्ष व्यवसायलाई नै धक्का पुर्याउने नियतमा लागेका छन् ।’
तामाङले राज्यलाई बुझाउनुपर्ने करिब साढे २ वर्षको ३ लाख रुपैयाँ राजश्व बाँकी भइसकेको छ । यती लामो समयसम्म कर नलिँदा भोलि जरिवाना कति पुग्ने हो आफूलाई थाहा नभएको बताउँदै उनले भने ‘आफूले त दुःख पाएँ पाएँ, मेरो घरमा वहाल लिने ४ वटै व्यवसायीहरूले समेत दुःख पाएका छन् ।’
तामाङको व्यवसायीक भवनमा बहालमा सेलुन, ब्युटी पार्लर, इलेकट्रोनिक र थेरापी सेन्टरका व्यवसायीहरू सञ्चालनमा छन् । उनीहरूले बुझाउनु पर्ने कर वडा कार्यालयले बुझ्न नमान्दा उनीहरूले व्यवसाय प्रमाणपत्र पाउन सकेका छैनन् । न त घर बहाल कर नै तिर्न पाएका छन् ।
उनले भने ‘समयमै दर्ता नवीकरण र कर तिर्न नपाउँदा उनीहरूको व्यवसाय नै खारेज हुने बेला भइसकेको छ ।’
वडाध्यक्षको धम्की, घर नभत्किएसम्म तिम्रो काम गर्दिन
वडाध्यक्ष राईले पुतली लाइन स्थित उनको ४ तले घरको सबै व्यापारिक कर, घर बहाल कर र व्यवसाय दर्ता प्रक्रिया पूर्ण रूपमा रोकिदिएका तामाङले बताए । उनले भने ‘मैले साढे दुई लाख रुपैयाँ कर बुझाउन खोज्दा वडा अध्यक्षले ‘जबसम्म घर भत्किँदैन, तबसम्म तिम्रो कुनै पनि काम फुक्का गर्दिन्न’ भनी धम्की दिँदै कर लिन अस्वीकार गरेको छ ।’
वडाध्यक्ष राईले आफ्नो घर मात्र भत्काउने र मान्छे लगाएर आफूलाई ज्यान मार्नेसम्मको धम्की दिँदै हिँडेको गम्भीर आरोप समेत तामाङले लगाएका छन् । उनले भने ‘अर्को व्यक्तिलाई मालपोत तिर्न पठाउँदा चैँ वडाध्यक्षले चाल नपाएर होला, मालपोत चैँ भर्खरै बुझाउन सफल भएँ ।’
तामाङका अनुसार उनको १० धुर जग्गामा निर्माण भएको चार तले घरको नक्सा पास र सम्पन्नता प्रमाणपत्र तत्कालीन वडा अध्यक्ष श्री सुब्बाको कार्यकालमै पूर्ण रूपमा कानुनी प्रक्रिया पूरा गरेर प्राप्त गरिएको हो ।
उनले आफ्नो जग्गाको छेउमा रहेको खोल्साको संरक्षणका लागि करिब तीन लाख रुपैयाँ खर्च गरी आफ्नै क्षेत्रभित्र पर्खाल पिलर निर्माण गरेको बताए । तर, वडा अध्यक्ष विवेक राईले सोही संरचनालाई विवादको विषय बनाएको उनको भनाई छ ।
तामाङले वडामा अन्य स्थानमा खोल्सा मिचेर आरसीसी संरचना तथा व्यावसायिक प्लाजा जस्ता ठुला भवनहरू निर्माण भए पनि तिनमाथि कुनै कारबाही नभएको बताए । तर कानुनी रूपमा सेट ब्याक छोडेर बनाएको घरलाई मात्र वडाध्यक्षले लक्षित गरेको उनको भनाई छ ।
तामाङले भने ‘अरूले खोल्सा मिचेर ठुला संरचना बनाउँदा केही हुँदैन, तर मैले कानुनी प्रक्रिया पूरा गरेर बनाएको घरलाई मात्र निशाना बनाइयो ।’ उनले चुनावका बेला वडाध्यक्ष विवेकले आफूलाई खाली कागजमा जबरजस्ती हस्ताक्षर गराउन खोजेको तर आफूले अस्वीकार गरेकोले प्रतिशोध लिएको आरोप लगाए ।
उनले भने ‘वडाध्यक्षको यो ज्यादती र दादागिरीको विरोधमा मेयर हर्क साम्पाङ र उपमेयर अईन्द्रविक्रम बेघाको समेत ध्यानाकर्षण गराइसकेको छु, न्यायको पर्खाइमा छु ।’
वडा अध्यक्ष विवेक राईले घरधनी महेन्द्र तामाङमाथि सम्पन्नता प्रमाणपत्र लिइसकेपछि स्वीकृत नक्सा भन्दा बाहिर गएर अतिरिक्त कोठा थपेर भाडामा लगाएको कारण वडाबाट प्रदान गरिने सबै सेवा रोकेको कपुरी न्युजलाई बताए ।
असारसम्म कोठा नभत्काए डोजर चल्छ : वडाध्यक्ष राई
वडाध्यक्ष राईका अनुसार तामाङले घर सम्पन्नता प्रमाणपत्र प्राप्त गरिसकेपछि पनि योजना बाहिर गएर साइडतर्फ अतिरिक्त कोठा निर्माण गरी कोठा भाडामा लगाएर आम्दानी लिँदै आएका छन् ।
उनले भने ‘सेट ब्याकको कुरा होईन कोठा थपेको छ,अर्को वडाले के गर्यो के गर्छ मलाई थाहा भएन मेरो वडाको मात्र मलाई थाहा हुन्छ ।’ उक्त अनधिकृत संरचनाले गल्लीमा अवैध रूपमा विस्तार गरिएको संरचनाका कारण नक्सा अनुसारको सार्वजनिक बाटो अवरुद्ध भएको वडाध्यक्ष राईको दाबी छ ।
राईले भने, “यसले नगर गौरवको आयोजना अन्तर्गत प्रस्तावित कोरिडोर विकास योजनालाई समेत असर पारेको छ ।”
उक्त क्षेत्रबाट कुखुरा बजारसम्म तथा रेस्टुरेन्टतर्फ जोडिने करिडोर विस्तार र हरियाली सहित पार्क विकासको योजना प्रस्तावित छ । त्यसैले अनधिकृत संरचना हटेपछि मात्र व्यवसाय तथा सम्पत्ति करसम्बन्धी सबै प्रक्रिया अघि बढाइने वडाध्यक्ष राईले बताए ।
वडाध्यक्ष राईका अनुसार तामाङलाई असार मसान्तसम्म अनधिकृत कोठा हटाउन समय दिएको छ । सो अवधिभित्र संरचना नहटाइएमा नयाँ आर्थिक वर्ष सुरु भएपछि नगरको डोजर प्रयोग गरी घर भत्काइने छ ।