काठमाडौँ : चार्टर्ड उडान मार्फत १५० चिनिया पर्यटकहरू नेपाल आएका छन् । शुक्रवार चीनको शेन्जेनबाट बिहान काठमाडौँ आइपुगेका हुन् ।
नेपाल पाण्डा इन्टरनेशनल ट्राभलले चीनको शेन्जेन र नेपालको काठमाडौँबिच सातामा दुई पटक हिमालय एयरलाइन्ससँगको सहकार्यमा सञ्चालन हुने यो उडान हुने भएको हो । हवाई सेवा प्रत्येक मङ्गलवार र शुक्रवार सञ्चालन हुने भएको हो ।
चीनको सिलिकन भ्याली भनेर परिचित शेन्जेन विश्वकै अग्रणी प्रविधि, नवप्रवर्तन तथा आर्थिक केन्द्रहरूमध्ये एक हो।
यस गतिशील महानगरबाट नेपालसम्म प्रत्यक्ष पहुँच स्थापना गर्दै नेपाल पाण्डा इन्टरनेशनल ट्राभलले नेपाललाई चिनियाँ पर्यटकहरूका लागि प्रमुख गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ।
विशेषगरी प्रविधि क्षेत्रका व्यवसायी, उद्यमी, लगानीकर्ता तथा प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र हिमाली साहसिक पर्यटनमा रुचि राख्ने पर्यटकहरूलाई आकर्षित गर्ने उद्देश्य रहेको छ ।
शेन्जेनबाट नियमित चार्टर्ड उडान सञ्चालन भएपछि चीनबाट नेपाल आउने पर्यटकहरूको सङ्ख्या वृद्धि हुनेछ। पर्यटन, आतिथ्य, हवाई सेवा र सेवा क्षेत्रका विभिन्न उद्योगहरूलाई आर्थिक लाभ पुग्ने भएको छ ।
चार्टर्ड उडानमार्फत यात्रा गर्ने यात्रुहरूले हिमालय एयरलाइन्सको सुरक्षित, आरामदायी र भरपर्दो सेवा अनुभव गर्ने छन् । नेपाल पाण्डा इन्टरनेशनल ट्राभलले गन्तव्य व्यवस्थापन विशेषज्ञतासहित उत्कृष्ट यात्रा अनुभव, विशेष रूपमा तयार गरिएका भ्रमण कार्यक्रम तथा विश्वस्तरीय आतिथ्य सेवा प्राप्त गर्ने जनाएको छ ।









































































