धरान : विश्व साइकल दिवसको अवसरमा धरानमा साइकल र्‍याली आयोजना गरिएको छ। वातावरण संरक्षण, स्वस्थ जीवनशैलीको प्रवर्द्धन तथा साइक्लिङका फाइदाबारे जनचेतना फैलाउने उद्देश्यले बुधवार र्‍याली सम्पन्न गरिएको हो।

पेडलर्स धरान, विजयपुर राइडर्स तथा साइक्लिङ धरानको संयुक्त आयोजनामा भएको र्‍यालीमा करिब ३० जना साइकलयात्रीहरूको सहभागिता रहेको थियो। आयोजक संस्थाका सदस्य किशन मास्केका अनुसार र्‍यालीले वातावरणमैत्री यातायातको प्रयोग बढाउन र नागरिकलाई स्वास्थ्यप्रति सचेत गराउन महत्वपूर्ण सन्देश दिएको छ।

स्वस्थ स्वास्थ्य, स्वच्छ वातावरण, भाइचारा र दिगो पर्यटन भन्ने नारासहित सहभागीहरूले धरानका विभिन्न क्षेत्रको परिक्रमा गरेका थिए। सैनिक चोकबाट सुरु भएको र्‍याली भानुचोक, भोटे पुल, बुद्धचोक, रत्नचोक, मङ्गलबारे, कल्याणचोक, पानीटङ्की, गणेशमानचोक, समीचोक, जानीको चोक, जेरोपोइन्ट, अमरहाट उकालो, विजयपुर चोक, हात्तीसार, रोटरी पृथ्वी चोक, सिंहदेवी चोक, माछाभौडी हुँदै  सैनिक चोकमा पुगेर सम्पन्न भएको थियो।

सहभागीहरूले बढ्दो सहरी प्रदूषण न्यूनीकरण, इन्धनको खपत घटाउने तथा स्वस्थ जीवनशैली अपनाउन साइकलको प्रयोग प्रभावकारी माध्यम भएको बताएका छन्। साथै, वातावरण संरक्षण र दिगो पर्यटन प्रवर्द्धनका लागि स्थानीय तह तथा सरोकारवाला निकायले साइकलमैत्री पूर्वाधार निर्माणमा ध्यान दिनुपर्नेमा समेत जोड दिएका छन्।