धरान : धरान–४ का निवर्तमान वडाध्यक्ष धनबहादुर राईसँग जोडिएको खयर रुख कटान प्रकरणमा परेको उजुरी पाँच वर्ष बित्न लाग्दा पनि न खारेज भएको छ न प्रक्रिया नै अघि बढेको छ । स्थानीयले वन कार्यालयको ढिलासुस्तीका कारण मुद्दा अलपत्र परेको आरोप लगाएका छन् ।
२०७७ फागुन १९ गते पञ्चकन्या सब-डिभिजन वन कार्यालयमा दर्ता भएको उजुरीमा तत्कालीन वडा सदस्य राईको अगुवाइमा पत्रङवारी सामुदायिक वन क्षेत्रभित्रका ६ वटा खयरका रुख काटिएको आरोप लगाइएको थियो । उजुरीमा बसन्तटार–खैरेनी सडक तथा ड्रेन निर्माणका क्रममा ३५ दशमलव ५६ क्युबिक फिट परिमाणका खयरका रुख कटान गरिएको उल्लेख छ ।
घटनाको मिसिलमा काटिएका रुख जमिनमुनि गाडिएको अवस्थामा फेला परेको विवरण छ । स्थानीयवासीका अनुसार उजुरी दर्ता भएपछि अनुसन्धान प्रक्रिया सुरु भए पनि हालसम्म मुद्दाले निष्कर्ष पाउन सकेको छैन ।
वन क्षेत्रभित्र अनुमति बिना रुख कटान भएको आरोप गम्भीर प्रकृतिको भए पनि वन कार्यालयको अनुसन्धान कार्यमा देखिएको ढिलासुस्तीप्रति स्थानीयले शङ्का गर्न थालेका छन् । स्थानीयले घटनाको निष्पक्ष छानबिन गरी दोषी देखिए कानुन अनुसार अघि बढ्न माग गरेका छन् ।
नाम नखुलाउने सर्तमा एक स्थानीयले भने ‘त्यस बेला वडाध्यक्षले आफैँ रुख काटेर हतार हतार जमिनमुनि गाडेका थिए, हामीले यस्तो गरेको भए सायद जेल परिसक्थ्यौँ ।’ यस्तो घट्नाको अहिलेसम्म कुनै कारबाही हुन सकेको छैन । बाटो घुमाएर लैजान सकिने अवस्था हुँदाहुँदै खयरका रुख काटेर बाटो बनाइएको स्थानीयको भनाई छ ।
‘कागजात मिलाउँदैछौं, प्रक्रिया अघि बढ्छ’ : अनुसन्धान अधिकृत
पञ्चकन्या सब-डिभिजन वन कार्यालयका अनुसन्धान अधिकृत श्यामप्रसाद सापकोटाले आवश्यक कागजात अपुग भएका कारण कारबाही प्रक्रियामा ढिलाइ भएको बताए ।
उनले भने ‘फाइलमा सपोर्टिङ डकुमेन्ट पर्याप्त छैनन्। कागजात मिलाउने काम भइरहेको छ। जिल्ला वन डिभिजन कार्यालय सुनसरीका प्रमुख आएपछि प्रक्रिया थप अगाडि बढ्छ ।’ उनका अनुसार दैनिक गस्ती तथा प्रशासनिक जिम्मेवारीका कारण पनि अनुसन्धानले अपेक्षित गति लिन सकेको छैन ।
स्थलगत मुचुल्का र बयान भए पनि मुद्दा निष्कर्षमा नपुगेको बताउँदै सापकोटाले भने “ढिला भएपनि कानुन विपरीत काम गर्ने व्यक्ति सजायको भागिदार हुन्छ ।” उजुरी परेपछि तत्कालीन वन अधिकृत ईश्वरीप्रसाद बास्तोलाले स्थलगत अनुगमन गरी मुचुल्का उठाएका थिए । प्रतिवेदनमा जमिनमुनि गाडिएको खयरका काठ बरामद गरी वन कार्यालयमा ल्याइएको उल्लेख छ ।
पछि तत्कालीन सब-डिभिजन वन अधिकृत महेशकुमार शाहले अनुसन्धानलाई निरन्तरता दिँदै २०७९ साउन ४ गते धनबहादुर राईलाई वन कार्यालयमा उपस्थित गराई बयान लिएका थिए। तर बसन्तटार–खैरेनी कालोपत्रे तथा ड्रेन उपभोक्ता समिति उपस्थित नभएको कारण प्रक्रिया अघि बढ्न नसकेको अनुसन्धान अधिकृत सापकोटाले बताए।
मिसिलअनुसार उपभोक्ता समिति अध्यक्ष रविन राईसहित ११ सदस्यीय कार्यसमिति रहेको देखिन्छ। उक्त समिति २०७७ वैशाख २५ गते गठन भएको थियो। समितिको तर्फबाट हालसम्म राय प्रतिवेदन पेश नभएको वन कार्यालयको भनाइ छ।
पत्रङवारी सामुदायिक वन उपभोक्ता समूहले वन कार्यालयमा बुझाएको प्रतिवेदनमा वनको अनुमति बिना खयरका रुख काटिएको तथा वन क्षेत्रबाट ६ वटा खयरका रुख हराएको उल्लेख गरिएको छ।