धरान : धरान-४ का वडाध्यक्ष धनबहादुर राईले ४ वर्ष अघि पत्रङवारी सामुदायिक वन क्षेत्र भित्र पर्ने ६ वटा खयरको रुख काटेकोमा लिखित उजुरी परेपनि बन कार्यालयले कारबाही नगरेको खुलासा भएको छ ।
उनी त्यस बेला वडा सदस्य थिए । तत्कालीन वडा सदस्य हालका वडाध्यक्ष राईकै अगुवाइमा खयरको रुख काटिएको भनी २०७७ फागुन १९ गते पञ्चकन्या सवडिभिजनमा उजुरी दर्ता भएको थियो ।
बसन्तटार खैरेनी कालोपत्रे तथा ड्रेन निर्माण गर्न भनेर रुख काटिएको थियो । उनले उपभोक्ता समितिको नाममा आफ्नै अगुवाइमा खयरको कुल ३५ दशमलव ५६ क्युबिक फिट परिमाणको ६ वटा रुख काटेका थिए । वडा सदस्यले राईले बाटो, ड्रेन निर्माणको अगुवाइ गरेका थिए ।
रुख काटेर जमिनमा गाडिएको थियो : मिसिल
राईले पत्रङवारी सामुदायिक वन उपभोक्ता क्षेत्र भित्रको रुख काटेका थिए । सामुदायिक वन क्षेत्र भित्र वन कार्यालयको अनुमति नलिई रुख काट्न मिल्दैन । वडाध्यक्ष राईले त्यस बेला खयरको रुख काटेर जमिन मुनी गाडेको भेटिएको मिसिलमा उल्लेख छ ।
वडा सदस्य हुँदा लिखित उजुरी परे पनि त्यति बेला कारबाही नभएको र अहिले ५ वर्ष लाग्दा पनि वडाध्यक्ष भएकै कारण राईलाई कुनै कारबाही नभएको स्थानीयले बताएका छन् ।
कानुन सबैलाई समान हुनुपर्ने तर बन कार्यालयले खयरको रुख काट्नु जायज थियो या नाजायज हो भनेर सामुदायिक वनमा कुनै दस्ताबेज छैन । यसरी खयरको काठ काट्ने कटाउने अन्य कोही भएको भए जेलमा हुने थिए । उनी वडाध्यक्ष भएकैले उन्मुक्ति पाएको स्थानीयको भनाई छ ।
कानुन बमोजिम कारबाही हुन्छ : प्रमुख मियाँ
जिल्ला वन डिभिजन कार्यालय सुनसरीका प्रमुख खुद्रोस मियाँले कानुन विपरीत कार्य गर्ने छुट कसैलाई नभएको बताए । उनले ‘कारबाही गर्न ढिला भएकै हो, अब अनुसन्धान अधिकृत खटाइएको छ, कारबाही हुन्छ ।’ वडाध्यक्ष हुन कि जो सुकै हुन कानुन बमोजिम कारबाही भोग्नुपर्छ, कानुनले कसैलाई काखा कसैलाई पाखा नगर्ने प्रमुख मियाँको भनाई छ ।
पदकै कारण कानुनी प्रक्रिया अगाडी बढेन : अनुसन्धान अधिकृत
पञ्चकन्या सव डिभिजन वनका अनुसन्धान अधिकृत श्याम प्रसाद सापकोटाले भने ‘पद शक्तिशाली भएको कारणले कारबाही प्रक्रिया अगाडी नबढेको होला ।’ जनप्रतिनिधि भएकै कारण पक्राउ गर्न झन्झटिलो हुने कारण कारबाही प्रक्रिया अगाडी नबढेको हुनसक्ने बताउँदै उनले भने ‘ढिला भए पनि कानुन विपरीत कार्य गर्ने व्यक्ति सजायको भागिदार हुन्छ ।’
उजुरी २०७७ फागुन १९ गते परेको हो । त्यस बेला वन अधिकृत ईश्वरी प्रसाद बाँस्तोलाले प्रक्रिया अगाडी बढाएका थिए । स्थलगत अनुगमन गरी मुचुल्का उठाई मुद्दाको प्रक्रिया समेत अगाडी बढाएका थिए । जमिनमा गाडिएको खयरका काठ बरामद गरी वन कार्यालयमा ल्याएको समेत प्रतिवेदनमा उल्लेख छ ।
पछि पुनः सव डिभिजन वन अधिकृत महेश कुमार शाहले प्रक्रिया अगाडी बढाएर २०७९ साउन ४ गते वडाध्यक्ष राई वन कार्यालय हाजिर गराएर वयान समेत लिएका थिए । तर बसन्तटार खैरेनी कालो पत्रे तथा ड्रेन उपभोक्ता समिति हाजिर नभएको देखाई प्रक्रिया रोकिएको अनुसन्धान अधिकृत सापकोटा बताए ।
मिसिलमा उपभोक्ता समिति अध्यक्ष रविन राई सहितको ११ सदस्यीय कार्यसमिति रहेको देखिन्छ । समिति २०७७ वैशाख २५ गते बनेको थियो । समितिको तर्फबाट राय प्रतिवेदन समेत बुझाएको छैन भने पत्रङबारी वन तथा उपभोक्ता समूहले वनको अनुमति बिना खयरको रुख काटेको र वनबाट ६ वटा खयरको रुख हराएको प्रतिवेदनमा उल्लेख छ ।
वन ऐन २०७६ के भन्छ ?
वन ऐन २०७६ अनुसार वन सिमाना चिह्न उखेल्ने, सार्ने, फेर्ने, मेट्ने वा बिगार्ने काम गरेमा, टाँचा वा निसाना कीर्ते गर्ने वा काठ वा खडा रुखमा लगाइएका सरकारी टाँचा, निसाना फेर्ने बिगार्ने वा मेट्ने गरेमा वन ऐन २०७६ को दफा ४९ को च, छ, ज, झ, ञ बमोजिमको कसुर अन्तर्गत सजाय हुने उल्लेख छ ।
ऐनको दफा ५० को उपदफा ६ मा उक्त कसुर अन्तर्गत एक लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्मको बिगो भए एक वर्षसम्म कैद वा बिगो बमोजिम जरिबाना वा दुवै, खण्ड च मा पाँच लाख रुपैयाँभन्दा बढी जतिसुकै बिगो भए पनि दुई वर्षसम्म कैद वा बिगोको दोब्बर जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।




![सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे] सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे]](https://www.kapurinews.com/uploads/2025/10/bus-accident-480x360.jpg)





























































