धरान : धरान उपमहानगरपालिकाको करार कर्मचारी अस्मिता राई पालिकाको कर्मचारी पोशाकमा डियुटीकै समय काउन्टरमै श्रम संस्कृति पार्टीको लागि चन्दा सङ्कलन गर्ने कार्यमा संलग्न भएको पाइएपछि विवादमा परेकी छन् । 
उनी उपमहानगरपालिकाको श्रम संस्कृति पार्क काउन्टरमा कार्य।रत छिन् । राईले कर्मचारीको ड्रेस र परिचयपत्र लगाएरै दार्चुलामा पुल निर्माण गर्न चन्दा सङ्कलन गरेको पाइएको छ । सामाजिक सञ्जाल फेसबुकमा चन्दा सङ्कलन गरेको भिडियो उनले आफैँ पोस्ट गरेकी छन् ।
भिडियोमा राईले दार्जिलिङबाट पार्क घुम्न आएका पाहुनाहरूबाट १९ हजार ५६० रुपैयाँ चन्दा सङ्कलन गरेको देखिन्छ । कर्मचारी पोशाक र परिचयपत्र सहित चन्दा सङ्कलन गरिएको विषयलाई कर्मचारी आचारसंहिता विपरीत भएको भन्दै प्रश्न उठेको हो ।
राईले कर्मचारी आचार संहिता उल्लङ्घन गरेको बारेमा उपमहानगरपालिकाका प्रशासन महाशाखा प्रमुख गणेश खतिवडाले कर्मचारीले यस्तो कार्य गर्न नहुने बताउँदै भने “कर्मचारीले ड्रेस र परिचयपत्र सहित चन्दा सङ्कलन गर्नु कर्मचारी आचारसंहिता विपरीतको कार्य हो, यदि उनी कर्मचारी हुन भने कर्मचारी आचार संहिताभित्र बसेर काम गर्नुपर्छ ।”
उनका अनुसार कर्मचारीको आचरण विहीन कार्य गरेको प्रमाण बाहिरिएकाले अस्मिता चाम्लिङ राईलाई प्रशासन महाशाखामा उपस्थित हुन भनिएको छ । खतिवडाले भने ‘उनी पार्टीसँग सम्बन्धित व्यक्ति भए पनि कर्मचारीको हैसियतमा चन्दा सङ्कलन गर्न पाइँदैन ।’
खतिवडाले कर्मचारी हुँ भन्ने थाहा भएर चन्दा सङ्कलन गरेको हो वा जानाजान लापरबाही गरेको हो ? भन्ने विषयमा स्पष्टता आएपछि आवश्यक कारबाही गरिने बताए । तर कस्तो प्रकृतिको कारबाही हुने भन्ने विषय भने अझै एकीन नभएको उनले जानकारी दिए ।