इटहरी : सुनसरीको रामधुनी नगरपालिकामा ४० करोड ७५ लाख रुपैयाँ बेरुजु देखिएको छ ।

आर्थिक वर्ष २०८१/८२ को महालेखा परीक्षण प्रतिवेदनमा गत वर्षको ३७ करोड ६६ लाख ९ हजारमा ३ करोड १० लाख ८ हजार थप भएको हो । प्रतिवेदनमा उल्लेख भए अनुसार इन्धनमा मात्र १ करोड २६ लाख ८५ हजार खर्च भएको छ ।

जनप्रतिनिधि तथा कर्मचारीको सवारीमा जम्मा २० लाख खर्च हुँदा कार्यालय प्रयोजनमा भने १ करोड ५ लाख २५ हजार खर्च भएको देखाइएको छ ।सवारी मर्मतमा भने एकबर्षमा ५८ लाख ४५ हजार खर्च भएको छ ।

यसरी हेर्दा इन्धन र सवारी मर्मतमा मात्र १ करोड ८५ लाख खर्च भएको पाइएको छ । प्रतिवेदनमा रामधुनी नगरपालिकाले विना योजना २८ करोड ९५ लाखको सामान खरिद गरेको उल्लेख छ ।पुँजीगत खर्च शीर्षकमा योजना नबनाई हचुवाको भरमा खर्च गरेको महालेखाको ठहर छ ।

वातावरण संरक्षण र फोहारमैला व्यवस्थापनमा चासो नदिएको बताइएको बताउँदै महालेखाले उपभोक्ता समितिको कामको गुणस्तरमा समेत प्रश्न उठाएको छ ।