वराहक्षेत्र : वराहक्षेत्र नगरपालिकाले बजार अनुगमनलाई प्रभावकारी बनाउने अभियान अन्तर्गत वडा नं८ को शुक्रवारे चोक, शिवशक्ति चोक र कुट्टी चोक क्षेत्रका विभिन्न पसलमा अनुगमन गरेको छ।
उपभोक्ताको अधिकार सुनिश्चित गर्ने उद्देश्यले गरिएको अनुगमनमा व्यवसाय दर्ता तथा नवीकरण,भन्सार छली गरी ल्याइएका सामग्री,म्याद गुज्रिएका वस्तु,मूल्य सूची, कानुनी कागजात तथा ४० माइक्रोन भन्दा कम मोटाइका प्लास्टिक झोलाको प्रयोग लगायत विषयमा निरीक्षण गरिएको नगरपालिकाले जनाएको छ।
नगरपालिकाका प्रशासन तथा आर्थिक विकास शाखा प्रमुख मातृका तिवारीका अनुसार नियमित बजार अनुगमन कार्यक्रमअन्तर्गत बजार व्यवस्थापन र उपभोक्ताले गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गरून् भन्ने उद्देश्यले अनुगमनलाई निरन्तरता दिइएको हो।
अनुगमनका क्रममा म्याद गुज्रिएका सामग्री बिक्रीका लागि राखिएको भेटिएपछि ती सामग्री नष्ट गरिएको छ। साथै राजस्व छली गरी ल्याइएका तथा नियम विपरीत कारोबार गरिरहेका व्यवसायीलाई सचेत गराइएको तिवारीले बताए।
नगर उपप्रमुख नन्दकुमारी सुनुवारको नेतृत्वमा भएको अनुगमन टोलीमा प्रशासन तथा आर्थिक विकास शाखा प्रमुख मातृका तिवारी,उद्योग वाणिज्य सङ्घ वराहक्षेत्र का अध्यक्ष तुलसी श्रेष्ठ, नगर प्रहरी तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।
नगरपालिकाले आगामी दिनमा पनि नियमित रूपमा बजार अनुगमनलाई निरन्तरता दिँदै उपभोक्ता हित संरक्षण र व्यवस्थित व्यापार प्रवर्द्धनमा जोड दिने जनाएको छ।







































































