धरान : आदिवासी जनजाती महासङ्घ धरान नगर समितिद्वारा आयोजित ककस कार्यक्रममा प्रतिनिधिसभा सदस्यका उम्मेदवार हर्क साम्पाङ र सरिन तामाङ (गोमा)अनुपस्थित भएका छन् ।
आज बिहीबार धरान ११ स्थित किराँत याक्खा छुम्मामा आयोजना गरिएको उम्मेदवारहरुसंग आदिवासी जनजातिका सवाल सम्बन्धी ककस कार्यक्रममा उनीहरू आएनन् ।
श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सुनसरी–१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका हर्क साम्पाङ र राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सरिन तामाङ(गोमा) आदिवासी जनजातिको सवालमा जवाफ दिनबाट भागेको अर्थमा आयोजकहरूले लिएका छन् ।
आदिवासी जनजाती समुदायका सवाल, अधिकार, पहिचान र राजनीतिक प्रतिबद्धताबारे छलफलका लागि आयोजना गरिएको ककसमा नयाँ पार्टीका प्रमुख दाबी गर्ने उम्मेदवारहरू नै अनुपस्थित भएका हुन् ।
नेपाली काँग्रेसका उम्मेदवार सुजेन्द्र तामाङले आदिवासी जनजाती महासङ्घको नेतृत्व पनि गरी सकेको बताए । उनले भने "हरेक आन्दोलनमा सहभागी छु आदिवासी जनजातिको सवाल मेरो पहिलो प्राथमिकतामा रहेको छ ।"
अर्का नेकपा एमालेका उम्मेदवार टिकाराम लिम्बुले आफू सदैव आदिवासी जनजातिको पक्षमा रहेको र आफनौ पार्टीको मन्त्री रहेको बेला आईएलो १६९ पास भएको बताउँदै ऐतिहासिक निर्णयको स्मरण समेत गराए।
नेकपाका उम्मेदवार मनोज भट्टराईले आफ्नो पार्टी सधैँ आदिवासी जनजाति समुदायको पक्षमा रहेको दाबी गर्दै आफू पनि सदैव आदिवासी जनजातिको हक अधिकारको पक्षमा उभिँदै आएको बताएका छन्।
धरानमा आयोजित चुनावी कार्यक्रममा बोल्दै भट्टराईले भने,“सङ्घीयता नेकपाकै पहलमा आएको हो। आदिवासी जनजातिको हक सुनिश्चित गर्ने अन्तर्राष्ट्रिय मापदण्ड आईएलओ १६९को अवधारणा पनि हाम्रो राजनीतिक आन्दोलनकै उपलब्धि हो।”उनले धरानको राजनीतिक संस्कृतिप्रति सङ्केत गर्दै मतदातालाई तारा चिन्हमा मतदान गर्न आग्रह गरे ।
भट्टराईले भने “धरानमा नाक हेरेर भोट हाल्ने चलन अन्त्य गर्नुस्। नाक हेरेर होइन, विचार र एजेन्डा हेरेर मत हाल्नुस्।”
भट्टराईले आदिवासी जनजाति समुदायको पहिचान, अधिकार, सहभागिता र समावेशी शासन प्रणालीलाई आफ्नो प्राथमिक राजनीतिक एजेन्डा रहेको पनि स्पष्ट पारे।
कार्यक्रममा सहभागी अन्य उम्मेदवार तथा प्रतिनिधिहरूले भने आदिवासी जनजाती समुदायका मुद्दा केवल चुनावी नारामा सीमित हुनु नहुने र व्यवहारिक प्रतिबद्धता आवश्यक रहेको धारणा राखेका थिए।
ककस आयोजक समितिले दुवै उम्मेदवारलाई औपचारिक रूपमा निमन्त्रणा गरिए पनि उनीहरू अनुपस्थित रहनु राजनीतिक जबाफदेहिताको दृष्टिले गम्भीर विषय भएको प्रतिक्रिया दिएको छ।
ककस कार्यक्रममा सुनसरी क्षेत्र १ का २६ जना उम्मेदवार मध्ये ९ जना मात्र उपस्थित रहेका थिए । ककसमा नेपाली काँग्रेसका उम्मेदवार सुजेन्द्र तामाङ, नेकपा एमालेका उम्मेदवार टिका लिम्बु,नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार मनोज भट्टराई,नेपाल मजदुर किसान पार्टीका महेश श्रेष्ठ,जनता समाजवादी पार्टी सञ्जय राई,राप्रपाबाट उद्धव श्रेष्ठ,उज्यालो पार्टीबाट डम्बर लावती जेन्टल, जनता समाज वादी पार्टी नगेन्द्र बहादुर लिम्बु,मितेरी पार्टी नेपालका डा. रक्ष कुमार राईको उपस्थिति रहेको थियो ।