धरान : नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालमा सिर्जना भएका हरेक विषम परिस्थितिमा देशलाई सम्हाल्ने क्षमतावान् एक मात्र दल नेपाली काँग्रेस भएको बताएका छन् । 
सुनसरी–१ मा काँग्रेस उम्मेदवार सुजेन्द्र तामाङको प्रतिबद्धता पत्र सार्वजनिक कार्यक्रममा प्रमुख अतिथि रहेको महामन्त्री शर्माले अहिलेको राष्ट्रिय सङ्कट घडीमा सिकारुलाई देश जिम्मा लगाउने होइन, परिपक्व शक्तिलाई जिम्मा दिनुपर्ने बताए ।  
निर्वाचनको मैदानमा आधी–हुरी चलेको बेला पनि देशको बागडोर सम्हाल्न सक्ने दल काँग्रेस मात्रै भएको बताउँदै उनले जनतालाई सचेत रहन आग्रह गरे । महामन्त्री शर्माले भने, “सिकारुलाई देश जिम्मा दिनु हुँदैन, राज्य सञ्चालन खेल होइन, जिम्मेवारी हा, परिपक्व, अनुभवी र सङ्कट व्यवस्थापन गर्न सक्ने दललाई मात्रै देशको नेतृत्व दिनुपर्छ ।’
नेपाली काँग्रेस इतिहासदेखि नै सङ्कटको घडीमा देशलाई सम्हाल्दै आएको दल भएकोले यस पटकको निर्वाचन पनि राष्ट्रको भविष्यसँग जोडिएको निर्णायक मोड हुने उनले बताए । 
तत्कालीन नेपाल कम्युनिस्ट पार्टी माओवादीको १० बर्षे जनयुद्धको द्वन्द्व अन्त्य गर्न र माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन काँग्रेसले निर्णायक भूमिका खेलेको महामन्त्री शर्माले स्मरण गराए ।
उनले भन ‘काँग्रेसको ‘बन्दुकले बन्दुकको समाधान हुँदैन’ भन्ने सिद्धान्तबाट गिरिजाप्रसाद कोइरालाले माओवादीलाई मूलधारको राजनीतिमा ल्याएर देशलाई ठुलो रक्तपातबाट जोगाएको कसैले बिर्सेका छैन ।’ संविधान निर्माणको संवेदनशील घडीमा सबै पक्षलाई समेटेर अघि बढ्ने काम काँग्रेसले गरेको उनले स्मरण गराए ।
 काँग्रेसलाई परिपक्व माझी भएको दाबी गर्दै,देशमा सङ्कट वा ‘आँधी हुरी’ आएको बेला अनुभवी नेतृत्वले मात्र देश सम्हाल्न सक्ने उनको भनाई थियो । यस बेला देशमा उठेको नयाँ पुस्ताको आक्रोश र मागलाई सम्बोधन गर्ने शक्ति पनि काँग्रेस नै भएको उनले बताए । 
फागुन २१ गतेको निर्वाचनका लागि काँग्रेसले नयाँ र युवा उम्मेदवार, महिला र दलित प्रतिनिधित्व उल्लेख्य रूपमा बढाएको जानकारी दिँदै १६५ क्षेत्रमध्ये १०६ जना नयाँ अनुहार उम्मेदवार बनाएको स्पष्ट गरे । 
सुनसरी क्षेत्र १ का उम्मेदवार सुजेन्द्र तामाङ एक योग्य र इमानदार उम्मेदवार भएको बताउँदै महामन्त्री शर्माले अब धरानले भुलेर पनि गल्ती गर्दै नगरी काँग्रेसको रुख चिन्हमा भोट लगाएर अनुभवी उम्मेदवार सुजेन्द्रलाई जिताउन आग्रह गरे । 
उनले सुजेन्द्र एक फौजी परिवारको छोरा र हङकङ तथा बेलायत जस्ता ठाउँमा जाने अवसर हुँदाहुँदै पनि आफ्नै माटोमा बसेर सेवा गर्न चाहने व्यक्तिको रूपमा उनले चित्रण गरे । हङकङ, बेलायत लगायत देशमा रहेका धराने युवाहरूलाई स्मरण गर्दै उनीहरूले पठाएको मन र धनको उच्च सम्मान आफूले गरेको बताए ।
विदेशमा रहेका युवाहरूलाई आफ्नो क्षेत्रको विकासका लागि सुजेन्द्र तामाङलाई जिताउन पहल गर्न उनले अपिल गरे । बदलिएको काँग्रेसले अब देश बदल्छ ढुक्क हुनुस् भन्दै शर्माले यस क्षेत्रबाट सुजेन्द्र तामाङ र समानुपातिकतर्फ निर्मला गुरुङलाई दिइने मतले गगनकुमार थापालाई देशको प्रधानमन्त्री बनाउने बाटो खोल्ने बताए ।
गगन थापा अनुभव, उत्साह र स्पष्ट भिजन भएको नेताको भएको बताउँदै महामन्त्री शर्माले  थापाले प्रस्तुत गरेको राजनीतिक स्थिरता र ५ वर्षको अवधारणा नेपालको ७५ वर्षको इतिहासमा कुनै पनि प्रधानमन्त्रीले पुरा गर्न नसकेको बताए ।
उनले भने ‘कुनै पनि प्रधानमन्त्रीले लगातार ५ वर्ष शासन गर्न सकेनन् ।’ ३४ वर्षमा ३० जना प्रधानमन्त्री फेरिएको राजनीतिक अस्थिरता नै देशको मुख्य समस्या भएकाले पूर्ण ५ वर्ष सरकार चलाउन दिने र अन्य दलहरू प्रतिपक्षमा बस्ने संस्कारको विकास गर्नुपर्नेमा उनले जोड दिए ।
congresh-gosna-sabha-dharan