धरान : महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक प्रतिवेदन अनुसार धरान उपमहानगरपालिकाका निवर्तमान प्रमुख हर्क साम्पाङले खोलेको माया धराने साबुन फ्याक्ट्रीमा सञ्चालन सम्बन्धी कार्यविधि नबनाई खर्च गरेको देखिएको छ ।
प्रारम्भिक प्रतिवेदनमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय तहलाई उद्योग सञ्चालन गर्ने अधिकार दिएको भए पनि धरान उपमहानगरपालिकाले फ्याक्ट्री सञ्चालन सम्बन्धी कार्यविधि नबनाई करोडौँ खर्च गरेको देखिएको हो ।
‘माया धराने साबुन फ्याक्ट्री संरचना बन्यो, मेसिन किनियो तर हाल सम्म सञ्चालन नै भएन फ्याक्ट्री सञ्चालन सम्बन्धी कार्यविधि नै नबनाई करोडौँ खर्च गरेको देखियो ।’ महालेखाको प्रारम्भिक प्रतिवेदन भन्छ ।
महालेखा अनुसार स्थानीय उद्योग सञ्चालन ऐनको दफा ११९२०‘ञ’मा स्थानीय व्यापार, वस्तुको माग, आपूर्ति तथा अनुगमन सम्बन्धी अधिकार उल्लेख छ । स्थानीय तहले आफ्नै फ्याक्ट्री खोलेको अवस्थामा त्यसको सञ्चालन, रेखदेख र नियमनको अधिकार सोही स्थानीय कार्यपालिकामा निहित हुने व्यवस्था छ ।
स्थानीय तहले फ्याक्ट्री सञ्चालन गर्दा प्रचलित उद्योग व्यवसाय ऐन र वातावरण संरक्षण ऐनको पालना गर्नु अनिवार्य हुन्छ । पालिकाले साबुन उत्पादन गर्नका लागि गत विगत वर्षहरूमा संरचना निर्माणमा माया धराने साबुन फ्याक्ट्री निर्माण उपभोक्ता समितिबाट कार्य गराई १४ लाख ९९ हजार ८४२, आर्थिक वर्ष २०८०/८१ मा खर्च गरेको देखिएको छ ।
यस वर्ष सञ्चालनका लागि आवश्यक मेसिन तथा अन्य सामाग्री खरिदमा ३० लाख ३० हजार ७५० खर्च गरेको देखियो । पालिकाले फ्याक्ट्री सञ्चालनको लागि कार्यविधि तयार नगरेको हुँदा सो सम्बन्धी थप विश्लेषण गर्न सकिएन, प्रतिवेदनमा भनिएको छ ।
महालेखाले भनेको छ ‘हालसम्म साबुन उत्पादन तथा फ्याक्ट्री सञ्चालन नभएकोले संरचना निर्माण र सञ्चालनका लागि भएको खर्चले सार्थकता पाउन सकेको देखिँदैन । पालिकाले सार्वजनिक खरिद कानुन र सञ्चालन तथा व्यवस्थापनसँग सम्बन्धित कानुनको अधीनमा रही सञ्चालनको निमित्त कार्यविधि तयार गरी खर्चको सार्थकता अभिवृद्धि गर्दै आन्तरिक आयलाई थप व्यवस्थित गर्नु पर्ने देखिन्छ ।’
यसरी सञ्चालनको उचित व्यवस्थापन नगरी यस वर्ष भएको खर्च नियम सम्मत नदेखिएको उल्लेख भन्दै निम्न खर्चहरू बेरुजु निकालेको छ ।
१.२०८२ असार साबुन उद्योग मेसिन खरिद र सञ्चालन तर्फ नगरप्रमुख भिजन कार्यक्रमबाट थ्री फेज २० केभी विद्युत् जडान बापत ८४ हजार ७८४ रुपैयाँ
२. साबुन उद्योगका लागि आवश्यक सामाग्री खरिद ३ लाख ११ हजार ९३६
३.ईन्टर र ट्रेड नेपाललाई मेशिन खरिद बापतको भुक्तानी ६ लाख ३४ हजार ३० रुपैयाँ
४.ईन्टर ट्रेड नेपाललाई मेशिन खरिद बापत २० लाख र गत आर्थिक वर्ष २०८० /८१ मा भएको खर्च १४ लाख ९९ हजार ८४२ रुपैयाँ गरी जम्मा ४५ लाख ३० हजार ५९२ रुपैयाँ बेरुजु भएको भएको महालेखाको प्रारम्भिक प्रतिवेदनले देखाएको छ ।
कानुनको उल्लङ्घन
फ्याक्ट्री सञ्चालन गर्दा उद्योग व्यवसाय ऐन,वातावरण संरक्षण ऐन,सार्वजनिक खरिद ऐन,सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कानुन अनुसार कार्यविधि, मापदण्ड र नियमन संरचना अनिवार्य हुने व्यवस्था भए पनि आफू नगरप्रमुख हुँदा हर्क साम्पाङले सञ्चालन गरेका उद्योगहरू कार्यविधि नबनाई सञ्चालन गरिरहेको प्रतिवेदनमा उल्लेख छ ।
उद्योग व्यवस्थापन संरचना तय गरेको छैन,उत्पादन मोडेल तयार गरेको छैन, बजार व्यवस्थापन योजना नरहेको मलेपले ठहर गरेको छ । धरान उपमहानगरपालिकाले सञ्चालन गरेको उद्योगमा खर्च नियम सम्मत नरहेको फ्याक्ट्री सञ्चालन नै नभएको अवस्थामा संरचना निर्माण र मेसिन खरिदमा भएको खर्चलाई “सार्थकता नपाएको खर्च” ठहर गर्दै महालेखाले यस वर्षको खर्चलाई नियम सम्मत नदेखिएको निष्कर्ष निकालेको छ ।
उपमहानगरपालिका कोषको खर्च
उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ मा १५ लाख, २०८१/८२ मा ४० लाख, ०८२/८३ मा १५ लाख रकम गरी जम्मा ७० लाख बजेट छुट्टाएको छ । विवरण अनुसार २०८० माघ १२ गते माया धराने साबुन फ्याक्ट्री निर्माण उपभोक्ता समितिलाई पहिलो रनिङ्ग विल रकम भुक्तानी ८ लाख ६ हजार ६८९ रुपैयाँ गरिएको छ ।
२०८० चैत्र ८ गते उपभोक्ता समितिलाई भवन निर्माणको अन्तिम मूल्याङ्कन रकम भुक्तानी ६ लाख ९३ हजार १५३ निकासा गरिएको छ । २०८२ असार ९ गते नगर भिजन कोषबाट विद्युत् प्राविधिक राजेश सुब्बालाई साबुन फ्याक्ट्री सञ्चालनको लागि २० केभी थ्री फेसलाईन जडान गर्न पेश भएको लागत अनुमान को आधारमा धरौटी तथा सेवा शुल्क भुक्तानीको लागि पेश्की ८४ हजार ७८४ रुपैयाँ भुक्तानी भएको छ ।
२०८२ असार २५ गते गोयल ट्रेड कन्र्सनलाई साबुन उद्योगको लागि सामाग्री खरिद रकम भुक्तानी ३ लाख ११ हजार ९३६ र २०८२ असार २५ गते ईन्टर ट्रेड नेपाललाई साबुन फ्याक्ट्रीको लागि मेशिन खरिदबापत ६ लाख ३४ हजार ३० रुपैयाँ, ईन्टर ट नेपाललाई साबुन फ्याक्ट्रीका लागि मेसिन खरिद तथा जडान बापत २० लाख निकासा गरिएको छ ।
२०८२ मङ्सिर २२ गते केसी ईलेक्ट्रिकलसलाई साबुन उद्योगमा थ्रि फेज लाईन जडान कालागि आवश्यक सामाग्री खरिद बापत ४० हजार २७८, २०८२ मङ्सिर २२ गते नै न्युन मञ्जु श्री सप्लार्यसलाई साबुन उद्योगको लागि वायरिङ र अन्य विद्युत् सामाग्री खरिद बापत ४२ हजार ९२८ भुक्तान गरिएको छ ।
२०८२ पुस ११ गते केसि ईलेक्ट्रानिक्सलाई धरान साबुन उद्योगको लागि सामाग्री खरिद बापत १२ हजार ८४१, २०८२ पुस १८ गते कालु राम ट्रेडर्सलाई साबुन फ्याक्ट्री साबुन फयाक्ट्रिको लागि आवश्यक सामाग्री खरिद बापत ८८ हजार ५११ रकम निकासा गरिएको छ । अव भुक्तानी हुन बाकी १३ लाख ५८ हजार ३६२ रुपैयाँ छ ।