इटहरी : इटहरी गोल्डकपको उद्घाटन खेलमा युवा समाज मोरङले विजयी सुरुवात गरेको छ ।
सोमबार राती सम्पन्न प्रतियोगितामा जस्ट जोन एफसी नाइजेरियालाई ३-२ गोल अन्तरले पराजित गर्दै युवा समाज मोरङले सेमिफाइनलको यात्रा तय गरेको हो ।
१६औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबलको रात्रिकालीन प्रतियोगितामा मोरङको तर्फबाट श्रीजन गौतम, सुजन डंगोल र दोर्जे तामाङले एक–एक गोल गरे । खेलको चौथो मिनेटमै श्रीजनले गोल गर्दै मोरङलाई अग्रता दिलाए ।
३५औँ मिनेटमा नाइजेरियाको तर्फबाट डिबोला हामजामले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए । पहिलो हाफ १–१ को बराबरीमा सकिएपनि दोस्रो हाफको ३८औँ मिनेटमा सुजन डङ्गोलले उत्कृष्ट गोल गर्दै मोरङलाई पुनः अग्रता दिलाए । त्यसपछि ४२औँ मिनेटमा दोर्जे तामाङले गोल थपेपछि खेल ३-१ को अवस्थामा पुगेको थियो।
खेलको अन्त्यतिर थपिएको पाँच मिनेटको अतिरिक्त समयमा एडिगन पिटरले एक गोल फर्काए पनि नाइजेरियन टोलीलाई हारबाट जोगाउन पर्याप्त भएन । खेलको ‘प्लेयर अफ द म्याच’ दोर्जे तामाङले नगद १० हजार रुपैयाँ प्राप्त गरे ।
मंगलबार हुने दोस्रो क्वाटर फाइनल खेलमा साबिक विजेता मच्छिन्द्र फुटबल क्लब र झापा-११ बिच प्रतिस्पर्धा हुनेछ। राष्ट्रिय जागृति क्लबले आयोजना गरेको प्रतियोगिता वैशाख ७ गतेसम्म सञ्चालन हुनेछ।
दुई विदेशी टोलीसहित आठ टोलीको सहभागी प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।


































































