इटहरी : इटहरीको सङ्कटग्रस्त सहकारीको रूपमा रहेको अम्बेकोशी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पीडितले बचत रकम फिर्ता पाउन थालेका छन् । कोशी प्रदेश सरकारले पहिलो चरणमा साना बचतकर्ताको रकम फिर्ता दिन सुरु गरेको हो ।
समस्याग्रस्त सहकारी व्यवस्थापन कार्यालयमार्फत २० हजार रुपैयाँ भन्दा कम बचत भएका बचतकर्ताको रकम फिर्ता गर्न थालिएका उद्योग, कृषि तथा सहकारी मन्त्रालयका उपसचिव पदमबहादुर ठकुराठीले बताए । उनका अनुसार चैत २९ गतेसम्म ऋण असुलीबाट १ करोड ३८ लाख ४४ हजार रुपैयाँ बैङ्कमा जम्मा भएको र बचत मिलानबाट १ करोड ९० लाख ४ हजार रुपैयाँ बचत फिर्ता भएकाले सोही रकम बचतकर्तालाई प्रदान गरिने भएको छ । 
पहिलो चरणमा २८ लाख ५७ हजार ७ सय ८१ रुपैयाँ फिर्ता हुने र बचत मिलानबाट यसअघि नै २१ जनाले बचत फिर्ता पाइसकेको उनको भनाई छ । सरकारले २०८१ साल पुस २३ गते समस्याग्रस्त घोषणा गरेको अम्बेकोशीमा पूर्वका इटहरी,दमक, विराटनगर लगायत सहरका बचतकर्ताको रकम अपचलन भएको छ । सहकारीका अध्यक्ष फणीन्द्र मगरसहितका सञ्चालक र कर्मचारीले करिब ९ हजार बचतकर्ताबाट सङ्कलित रकम अपचलन गरेका छन् । ठगी आरोपमा पुर्पक्षका लागि थुनामा रहेका मगर जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेर सम्पर्कविहीन भएका छन् ।