धरान : सुनसरी १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी हर्क साम्पाङको विजय र्यालीमा मोटरसाइकल कुदाउँदै सहभागी भएका नवीन राईलाई आज बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
उनलाई धरान-१५ श्याम चोकबाट चोरीको आशङ्का गरिएको बुलेट मोटरसाइकल सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । राई उक्त मोटरसाइकल सहित बुधवार हर्क साम्पाङको विजय जुलुसमा सहभागी थिए ।
इलाका प्रहरी कार्यालय धरानका डिएसपी भीषणबाबु राईका अनुसार नवीन राईलाई बागमती प्रदेश ०२-३६ प ५५४० नम्बरको बुलेट मोटरसाइकलसहित बिहीबार बिहान साढे ९ बजे नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार उक्त मोटरसाइकल चोरी भएको विषयमा नेपाल प्रहरीले सातदोबाटो, काठमाडौँ परिसरबाट हुलिया सहितको परिपत्र जारी भएको थियो ।
सोही आधारमा मोटरसाइकल चलाइरहेका राईलाई नियन्त्रणमा लिइएको डिएसपी राईले बताए। उनले भने‘मोटरसाइकल चोरी सम्बन्धी उजुरी जसमता राईले सातदोबाटो काठमाडौँ परिसर क्षेत्र दिएको आधारमा पक्राउ गरिएको हो ।’
डिएसपी राईले मोटरसाइकलको ब्लु बुक सहित सम्बन्धित व्यक्तिहरूलाई बोलाएर घटनाबारे थप अनुसन्धान गरिने जानकारी दिएको छन्।
































































