धरान : श्रम संस्कृति पार्टीका केन्द्रीय सदस्य ज्ञानु चाम्लिङ राईले पार्टी अध्यक्षको एकल स्वार्थ एकल ढङ्गले चलेको आरोप लगाउँदै असन्तुष्टि जनाएका छन् ।
बिहीबार बिहान राईले कपुरी न्युजलाई भने ‘पार्टीभित्र एकलतन्त्र र मनपरी तन्त्र हाबी भएको आरोप लगाए । उनले भने ‘पार्टीभित्र एकलतन्त्र हाबी भयो, मनपरी तन्त्र हाबी भयो, देश र जनताको लागि काम भएन, आफ्नो स्वार्थका लागि मात्र काम भयो ।’
उनका अनुसार पार्टीभित्र प्रसाद राई, एम के वाङदेल, नवीन राई र धनबहादुर लिम्बू मात्र हाबी भएका छन् । उनीहरूले पार्टी अध्यक्ष हर्क साम्पाङलाई एकल ढङ्गले प्रयोग गरेको उनले आरोप लगाए । उनले भने ‘विजय जुलुसमा मात्र हिँडाइयो, तर हाम्रो त्याग र तपस्याको कदर भएन ।’
केन्द्रीय सदस्य राईले आफू देश र जनताप्रति बफादार रहेको, सुरुवाती चरणदेखि सङ्घर्ष गर्दै आएका व्यक्तिहरूलाई देशद्रोही जस्तो व्यवहार गरिएको गुनासो गरे । विकासका काममा अगाडि नआएका व्यक्तिहरूले श्रमदाताहरूको अपमान गर्न खोजेको उनले आरोप लगाए ।
राईले सामाजिक सञ्जाल फेसबुक लाइभ गर्दै सङ्घर्षको समयमा साथ दिएका कार्यकर्ताभन्दा व्यक्तिगत स्वार्थमा काम गर्ने समूहले पार्टीभित्र गुटबन्दी गरेको आरोप पनि लगाएका छन् ।
उनले पार्टीभित्र एकल निर्णय हाबी भएको भन्दै यसले युवाहरूको मनोबल घट्ने र सङ्गठनको नैतिकतामा असर पर्ने बताए । आफूले राम्रो काम गर्दै आएको र कसैसँग नडराउने भन्दै गलत काम गर्नेहरूको विरुद्धमा विद्रोह गर्ने चेतावनी समेत दिएका छन् ।
उनले भने ‘हिजोदेखि साथ दिएका मानिसलाई केही नसोधी एकल ढङ्गले काम गर्दा युवाहरूको मनोबल गिरिरहेको छ ।’ नेतृत्वलाई प्रत्यक्ष रूपमा कुरा गर्न पनि उनले आग्रह गरेका छन् ।
राईले बुधवार साँझ फेसबुकमा स्ट्याटस लेख्दै अध्यक्ष चढेको गाडीमा सुरुवातदेखि सँगै हिँडेका व्यक्तिबारे प्रश्न उठाएका थिए । ‘आज जो–जो अध्यक्षज्यू चढ्नुभएको गाडीमा सुरुदेखि हिँड्नु भयो, हामी अरू देशद्रोही हौँ किन ? कसैलाई जानकारी छैन, यो गम्भीर विषय हो ।’ उनले लेखेका छन् ।
उक्त स्ट्याटसपछि बिहीबार बिहान पुनः लाइभमा आएर उनले पार्टी मनपरी र एकलौटी ढङ्गले चलेको आरोप लगाउँदै आवश्यक परे विद्रोह गर्ने चेतावनी दिएका हुन ।