धरान : धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर, धरान खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष अईन्द्र विक्रम बेघाले खानेपानी बोर्डको अनुमति र समन्वय बिना राजनीतिक दल वा संस्थागत कसैले पनि खानेपानी क्षेत्रमा काम गर्न नपाउने बताएका छन्।

आइतबार खानेपानी बोर्डमा आयोजित पत्रकार सम्मेलनमा बेघाले खानेपानी जस्तो संवेदनशील क्षेत्रमा अनाधिकृत ढङ्गले काम गर्दा व्यवस्थापनमा समस्या आउने र कानुनी जटिलता समेत उत्पन्न हुन सक्ने बताए ।उनले बोर्डको अनुमति र सम्बन्धित निकायसँग समन्वय नगरी गरिने कुनै पनि गतिविधि अनधिकृत हुने स्पष्ट पार्दै नियम र प्रक्रिया अनुसार मात्र काम गर्न सम्बन्धित पक्षलाई आग्रह गरेका छन् ।

अध्यक्ष बेघाले खानेपानी बोर्डको स्रोत साधन राजनीतिक पार्टी वा अन्य संस्थागत कार्यक्रमका लागि प्रयोग गर्न नमिल्ने पनि स्पष्ट गरे । उनले भने “प्रयोजनको जानकारी नदिई एक्कासी फोन गरेर माननीय ज्यूले बोर्डको स्रोतसाधन र कर्मचारी माग्नु भएको सत्य हो, बोर्डले गाडी सहित कर्मचारी र पानी ट्याङ्कर पठाएकै हो, तर ट्याङ्कर अन्य स्रोत साधनभन्दा ढिलो पुगेछ ।’
ट्याङकर ढिलो पुगेपछि ‘माननीय ज्यु’ले सामाजिक सञ्जालमा स्टन्टबाजी गर्दे सामाजिक सञ्जाल तताउँदै सामाजिक सञ्जालमा बोर्डप्रति तथानाम गाली गर्नु पदीय मर्यादा विपरीत भएको कार्यवाहक मेयर बेघाले टिप्पणी गरे । 
उनले भने “उहाँले पदको मर्यादा बिर्सेर सामाजिक सञ्जालमा गाली गर्नु गलत हो ।” पदीय मर्यादामा बसेपछि पदीय जिम्मेवारी पुरा गर्नु पर्दछ । मनपरी बोल्नु हुँदैन । कार्यवाहक मेयर बेघाले प्रश्न गरे ‘ आफ्नो हैसियत बिर्सेर ट्याङ्कीमा मिसाएको पानी काटेर दिन्छु भन्न मिल्छ र ? हिजो उहाँ बोर्डमा हुँदा बोर्डका स्रोत साधन र कर्मचारी प्रयोग गर्दे उठाएको रकम प्रयोग भएर ल्याएको पानी हो मनपरी बोल्न मिल्दैन होला ।’
बेघाले पार्टीको कार्यक्रममा प्रयोगका लागि बोर्डको गाडी र पानी माग गरिएको बताए । नियम अनुसार नमिल्ने विषय भए पनि पाइप लाइन पुर्ने काम पानीसँग सम्बन्धित भएकाले पछि खाना पकाउने प्रयोजनका लागि गाडी र पानी पठाइएको बताए ।
उनले भने ‘माननीय ज्युले फोनमा ट्याङ्कर दिनभर राख्ने भनिए पनि आफूले दिनभर ट्याङ्कर राख्न नमिल्ने र पानी भरेपछि तुरुन्त फिर्ता गर्नुपर्ने सर्त मात्र राखेको थिएँ ।’ तर पानी भर्ने क्रममा ढिलाइ भएर ट्याङकर ढिलो पुग्दा सामाजिक सञ्जालमा अनर्गल र तथानाम गालीले भरिएको उनले बताए ।
बेघाले खानेपानी संरचनाको रेखदेख, मर्मत तथा व्यवस्थापन गर्ने मुख्य अधिकार धरान खानेपानी व्यवस्थापन बोर्डसँग मात्र रहेको स्पष्ट गरे । उनले भने ‘बोर्डसँग समन्वय वा अनुमति बिना अन्य व्यक्ति वा समूहले खानेपानी क्षेत्रमा काम गर्नु अनधिकृत हुन्छ ।’
यसैबिच कार्यवाहक मेयर बेघाले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग मासिक करिब २० लाख लिटर पानी उपलब्ध गराउने सम्झौता रहेको जानकारी दिए । प्रतिष्ठानको आफ्नै संरचनाले नधान्दा बोर्डले पानी पठाउने गरेको र कहिलेकाहीँ ढिलाइ हुँदा बाहिर नकारात्मक हल्ला हुने गरेको उनले गुनासो गरे ।
बोर्डमा नगद मौज्दात १ करोड ७१ लाख, 
बोर्ड अध्यक्ष बेघाले बोर्डको आर्थिक अवस्थाबारे जानकारी दिँदै फागुन महिनामा करिब १ करोड ४१ लाख ४० हजार ३३१ रुपैयाँ ८५ पैसा आम्दानी भएको बताए । सोही अवधिमा १ करोड ५२ लाख ३७ हजार ७०५ रुपैयाँ खर्च भएको छ । हाल बोर्डमा १ करोड ७१ लाख १४ हजार ३०९ रुपैयाँ ३० पैसा नगद मौज्दात रहेको उनले जानकारी दिए ।
नयाँ वेलबाट पानी थपियो 
प्रदेश सरकारको सहयोगमा निर्माण गरिएको भूमिगत वेलबाट दैनिक २५ लाख लिटर पानी थपिएको छ । हाल धरानमा दैनिक खानेपानीको उपलब्धता २ करोड ४३ लाख ५० हजार लिटर पुगेको र थप एक वेल सञ्चालन हुन बाँकी रहेको बेघाले जानकारी दिए ।
उनका अनुसार हाल खानेपानीको स्रोत उदय वनबाट १७ लाख,चार कोशे क्षेत्रबाट १ करोड ४० लाख, प्रदेश सरकारको वेलबाट २५ लाख, सर्दु–खर्दुको पुरानो स्रोतबाट ४५ लाख लिटर पानी प्राप्त भइरहेको छ। साथै निसाने खोला ९१ लाख,कोकाह खोला ९१० लाख०, नयाँ ट्याङ्की ९रिचार्ज पोखरीबाट २ लाख, भालु खोला ९१ लाख०, पकुवा ९१ लाख० र कोकाह उपभोक्ता स्रोतबाट १ लाख ५० हजार लिटर पानी उपलब्ध भइरहेको बोर्डले जनाएको छ।