धरान: लिम्बु पत्रकार सङ्घ सुनसरीले एक सुका अभियानबाट अक्षयकोषका लागि १० लाख रुपैयाँ सङ्कलन लक्ष्य पुरा गरेको छ ।
सङ्घले गत: असार १ गते देखी ३ महिना भित्र अक्षयकोषका लागि १० लाख रुपैयाँ सङ्कलन गर्ने लक्ष्य सहित एक सुका सहयोग अभियान सुरु गरेको थियो । सङ्घका जिल्ला अध्यक्ष स्वर्णिमहाङ लिम्बुले भने ‘अभियान चलिरहेको बेला जेनजी विद्रोहले मुलुक प्रभावित भयो, दुई महिना अभियान रोकियो, अवरोधका कारण लक्ष्यमा पुग्न आठ महिना लाग्यो ।’
दश लाख रुपैयाँको लक्ष्य पुरा भएपछि सङ्घले बुधवार सम्म इच्छुक सहयोगीहरूलाई सहयोग रकम प्रदान गर्ने अन्तिम तोकेको थियो । बुधवार ४ बजे सम्म सङ्घको कार्यालयमै बुझाइएका रकमहरू समेत कुल १० लाख २३ हजार भन्दा बढी सङ्कलित भएको अध्यक्ष स्वर्णिमहाङले बताए ।
सङ्घले पत्रकारिताको माध्यमबाट लिम्बु तथा लिम्बुवान क्षेत्रको भाषिक, सामाजिक सांस्कृतिक तथा इतिहास र वर्तमान अवस्थाका विषयमा योगदान पुर्याउने पत्रकारहरूलाई वार्षिक पुरस्कार प्रदान गर्न १० लाख रुपैयाँको अक्षयकोष स्थापना गर्न लागेको हो ।
अध्यक्ष स्वर्णिमहाङका अनुसार पुरस्कार १ जना गैर लिम्बु सहित ३ जना पत्रकारलाई प्रदान गरिने छ । पुरस्कार प्रदान गरिने मापदण्ड, नियम र अक्षयकोष सञ्चालनको कार्यविधि मस्यौदा गर्न सङ्घले उपसमिति गठन गरिसकेको उनले बताए ।






























































