धरान : आमाले लेखेकी प्रेम कविताले अहिले आफूलाई रोमाञ्चित बनाएको सुनाउँदै छोरीले स्रष्टाको रचना गर्भबारे रोचक सम्झना खुलासा गरेकी छन् ।
डा.अस्मिता विष्टको ‘ब्ल्याकहोलमा गीतहरू’ कविता सङ्ग्रहको शनिवार आयोजित विमोचन कार्यक्रममा छोरी श्रेया खड्काले सङ्ग्रहको ‘यादको धागो’ प्रेम कविता वाचन गर्दै आमाको रचनागर्भ बारे चर्चा गरेकी हुन । यादको धागो सङ्ग्रहको सबैभन्दा सुन्दर प्रेम कविता हो । उनले भनिन् ‘निधाई सकेको हामीलाई मध्यरातमा उठाएर आमाले भर्खरै लेखेको कविता भन्दै सुनाउनु हुन्थ्यो ।’ कविताको भाव, अर्थकाको गहिर्याइ नबुझ्ने उमेरमा आमाले यति राती के किन लेख्नु भएको होला भन्ने जिज्ञासा हुने गरेको उनले बताइन् ।
अहिले आएर आमाको कविता पढ्दा आफू रोमाञ्चित हुने श्रेयाको भनाई र उनको पहिलेका जिज्ञासा विमोचनसँगै भएको अस्मिताका प्रेम कविताहरू विमर्शमा चर्चाको विषय बन्यो । सहजकर्ता अमित थेबेले अस्मितालाई प्रश्न गरे ‘सङ्ग्रहमा अधिकांश प्रेम कविता छन्, यसलाई कुनै पात्रप्रति आशक्तिको उत्प्रेरणा हो कि ?
माया प्रेमा परेका पात्रहरू रातभर निधाउन सक्दैनन् । अनेक स्वैरकल्पनाहरूमा अलमलिन्छन् । यसै बेला कविताहरू फुर्छ भन्ने मान्यता रहँदै आएको परिवेशमा उठेको प्रश्नका बारेमा अस्मिताको जवाफ घुमाउरो थियो ।
उनले कुनै पात्रप्रति आशक्त भएर कविता नलेखिएको बताउँदै भनिन् ‘प्रेम कविता कुनै व्यक्तिप्रति लक्ष्यीत भएर मात्र लेख्न , प्रेमलाई कसैले कहिल्यै परिभाषित गर्न सक्दैन ।’ प्रेम आमा, बुवाप्रतिको माया, ममता पनि हो र ईश्वरप्रतिको आस्था पनि प्रेम भएको उनको भनाई थियो ।
विमर्शमा समीक्षक टीका आत्रेयले सङ्ग्रहमा कवियत्री अस्मिता नारिवाद जस्तो देखिने बताउँदै महिलाको अभिव्यक्ति मुखरित गर्न सक्ने क्षमता उनको कविताहरूमा पाइने बताइन् ।
समीक्षक डा. दीपक न्यौपानेले अस्मिताका प्रेम कविताहरू श्वासत मूल्यमा आधारित नारीवादी कविता भएको बताए । उनले भने ‘कविताहरूमा बिम्बमा बोल्छ, ब्ल्याकहोल पन्तरिक्षको विम्ब हो ।’
महेन्द्र क्याम्पस अङ्ग्रेजी विभागद्वारा आयोजित विमोचन एवं विमर्श कार्यक्रममा अस्मिताले सङ्ग्रहको एउटा कविता सुनाएर पुस्तक विमोचन विमोचन भएको घोषणा गरिएको थियो । कलरव धरानको डिजाइनमा भएको कार्यक्रम प्रयोगवादी तरिकाले गरिएको हो ।
विमोचनको घोषणा लगत्तै सङ्ग्रहका कविताहरू नयाँ पुस्ताका कवि/कवियत्रीहरुले पालैपालो वाचन गरेका थिए । कविता वाचन गर्नेहरूमा कवि चन्द्र गुरुङ, करुणा राई, सुदिप पाख्रिन, सबिता फागो र श्रेया खड्का थिइन् । सञ्चालन हेमन यात्रीले गरेका थिए ।
विमोचनमा प्रमुख अतिथि पूर्व प्रदेश प्रमुख प्राध्यापक डा.गोविन्द तुम्बाहाङले नेपाली कविताहरूले अङ्ग्रेजी साहित्यको तुलना गर्न लायक भएको बताउँदै भने ‘मैलै अङ्ग्रेजी साहित्य पढ्दा बुझ्न जाति कठिन लाग्थ्यो, त्यस बेला नेपाली साहित्य सरल थियो, अहिले आएर बुझ्न कठिन हुँदै गएको छ ।’
कार्यक्रममा समालोचक प्राडा. गोपाल भण्डारी, प्राडा. खेमनाथ दाहाल, डा.भावनी शङ्कर भट्टराई, डा.महानन्द तिम्सिना लगायत पुराना र नयाँ पुस्ताका साहित्यकारहरू सहभागी थिए । सहभागीहरूले एक मिनेट मौन धारण गरी जेन-जी प्रदर्शनमा सहिद भएका दिवंगतहरुप्रति श्रद्धाञ्जली प्रकट गरे ।