धरान : सुनसरी १ मा नेपाली काँग्रेसका प्रतिनिधि सभा सदस्यका उम्मेदवार सुजेन्द्र तामाङले शिक्षामा निजी क्षेत्रको लगानीलाई जोखिममा पार्ने नभई अझ सुरक्षित र लगानीमैत्री बनाउने नेपाली काँग्रेसको स्पष्ट नीति रहेको बताएका छन् ।
धरानमा रहेका निजी संस्थागत विद्यालयहरूसँग आइतबार आयोजित निजी विद्यालयप्रति नेपाली कांंग्रेसको धारणा प्रतिबद्धताका बारेमा भएको अन्तर क्रियामा तामाङले काँग्रेसको नीति राखेका हुन् । कार्यक्रमको संयोजन निजी विद्यालय तर्फबाट भगत लिम्बु र दीपक घिमिरेले गरेका थिए ।
काँग्रेसका क्षेत्र १ का सभापति समेत रहेका तामाङले भने "शिक्षा विधेयकको पक्षमा नेपाली काँग्रेस स्पष्ट छ ।"
उनले नेपालको शिक्षा क्षेत्रलाई वर्तमान अवस्थामा पुर्याउन निजी विद्यालयहरूको ठुलो योगदान रहेको उल्लेख गर्दै निजी क्षेत्रसँगै नेपाली काँग्रेस उभिने प्रतिबद्धता जनाए ।
तामाङले भने“निजी लगानी जोखिम होइन, सुरक्षित हुनुपर्छ। शिक्षामा प्रतिस्पर्धा वैज्ञानिक हुनुपर्छ।,”
युवा नेतृत्व र पार्टी रूपान्तरणका विषयमा उनले नेपाली काँग्रेस ‘जेन–जी’ को भावना अनुसार रूपान्तरण हुँदै गएको दाबी गरे।
यस पटकको निर्वाचनमा १६५ वटै निर्वाचन क्षेत्रमा ६६ प्रतिशतभन्दा बढी युवालाई उम्मेदवार बनाइएको उनको भनाइ थियो।
कार्यक्रममा तामाङले नेपालको अर्थतन्त्रको मेरुदण्ड कृषि र पर्यटन रहेको उल्लेख गर्दै धार्मिक, पर्यावरणीय तथा खेल पर्यटनको विकासका लागि आवश्यक पूर्वाधार निर्माणलाई पार्टीको घोषणापत्रमा समेटिने जानकारी दिए।
अन्तरक्रिया धरानका २४ वटा निजी विद्यालयका सञ्चालकहरूको उपस्थिति रहेको थियो। सहभागी सञ्चालकहरूले शिक्षा विधेयक खारेज हुनुपर्ने माग गर्दै आगामी दिनमा निजी विद्यालयप्रति स्पष्ट नीति र व्यवस्था ल्याउने दललाई मात्र मतदान गर्ने बताएका छन्।
सञ्चालकहरूले निजी विद्यालयहरूले ठुलो लगानी गरेर रोजगारी सिर्जना तथा शिक्षा क्षेत्रमा योगदान पुर्याएको उल्लेख गर्दै आफूहरूले कहिल्यै राज्यका लागि अवरोध सिर्जना नगरेको दाबी गरे। निजी विद्यालयहरूले राज्यप्रति कुनै अपराध नगरेको भए पनि आफूहरूलाई अपराधीझैँ व्यवहार गरिएको भन्दै उनीहरूले असन्तुष्टि व्यक्त गरेका थिए।
निजी विद्यालयहरूले सबै दलहरूसँग निजी विद्यालय प्रतिको प्रतिबद्धता माग गर्ने योजना रहेको निजी विद्यालयका प्रतिनिधि दीपक घिमिरेले बताए ।