धरान : नेपाली साहित्यमा प्रथम नाटक लेखिका धरानकी सावित्री पोखरेलको ८९ वर्षको उमेरमा शुक्रवार काठमाण्डौमा निधन भएको छ।
२०१५ सालमा प्रकाशित उनको ‘कलङ्की समाज’ नाटक नेपाली साहित्यमा पहिलो महिला लेखिकाले लेखेको नाटक भएको समालोचकहरूले उल्लेख गरेका छन् । ‘कलङ्की समाज’ नाटक २०५५ मा एन्नयन प्रकाशनले दोस्रो संस्करण र २०६५ सालमा नई प्रकाशनले तेस्रो संस्करण प्रकाशित गरेको छ ।
पहिलो पटक ‘कलङ्की समाज’ सुभद्रादेवी दंगालको नाममा प्रकाशित छ भने पछिल्लो संस्करण सावित्री पोखरेलको नाममा प्रकाशित छ । बाल विधवा सुभद्राले धेरै पछि पोखरेलसँग पूनः विवाह गरेपछि नाम  परिवर्तन गरी सावित्री राखेकी उनका पारिवारिक नाताले भाइ साहित्यकार गिरिराज आर्चायले बताए ।
‘कलङ्की समाज’ सुभद्रादेवीले २०१० साल तिर लेखकी थिइन् । नाटकको रचना गर्भ उनी बाल विधवा बनेपछि समाजबाट व्यहोर्नु परेको प्रताडनासँग जोडिएको छ । आचार्यका अनुसार सुभद्रादेवीको जन्म १९९४ सालमा धनकुटाको छःथर सिबुवा मूल घर आचार्य परिवारमा भएको थियो ।
अभिभावकले उनलाई ११ वर्षको बाल्यकालमा विराटनगरका विष्णु दंगालसंग विवाह गराई दिए। विवाहको केही वर्षमा विष्णुको मृत्यु भयो । बाल विधवा सुभद्रा धरान माइती आचार्य साइलाबासंग बसेन पढिन् ।
उनले शारदा बालिका नमुना माविबाट एसएलसी पास गरिन् । त्यसै क्रममा बाल विवाह र विधवा बनेपछि भोग्नु परेको तत्कालीन सामाजिक प्रताडना, फरक व्यवहारको पिडा व्यक्त गर्न 'कलङ्की समाज’ नाटक लेखेको बताएकी गिरिराज आचार्यले उल्लेख गरे ।विद्यार्थीकालमा सुभद्रा धरानको नाटक तथा साहित्यिक कार्यक्रमहरूमा पनि क्रियाशील थिइन् । स्वर्गीय चन्द्रशेखर श्रेष्ठको निर्देशनमा मञ्चन हुने नाटक मण्डलीमा सुभद्राको सहभागी हुन्थिन् ।
उनलाई अभिभावकले उच्च शिक्षाको लागि त्यसबेलाको चलन अनुसार बनारस पठाए । बनारसबाट उनलाई नेपाल फर्कन अभिप्रेरित गर्ने आफन्तले काठमाडौँ फर्काए । तत्कालीन साझा प्रकाशनमा काम लगाई दिए ।
साझामा कार्यरत रहँदा साझामै कार्यरत तेजप्रसाद पोखरेलसँग उनको पुनर्विवाह भयो । आचार्यका अनुसार पोखरेलसँग विवाह भएपछि सुभद्राबाट उनी सावित्री पोखरेल भइन् । त्यस पछि ‘कलङ्की समाज’ नाटकको पछिल्ला संस्करणहरू सोही नाममा प्रकाशित भएको हो ।
सावित्रीलाई अचानक निमोनिया भएपछि दुई दिन अघि मात्र काठमाण्डूको मेडिकेयर हस्पिटल चाबहिलमा उपचारका लागि भर्ना गरिएको थियो । उनको स्वास्थ्य अवस्था गम्भीर बनेपछि आइसीयुमा भेन्टिलेटरमा राखी उपचार भइरहेको अवस्थामा दुःखद निधन भएको हो ।