धरान : श्रम संस्कृति पार्टीका अध्यक्ष धरानका पूर्व नगरप्रमुख हर्क साम्पाङ सहित उनका कार्यकर्ताले घरदैलो चुनाव प्रचारमा जाँदा प्रश्न उठाउने नागरिकलाई हप्काएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
वराहक्षेत्र–२ स्थित सैनिक टोलमा बुधवार घरदैलो भोट माग्दै हिँडेका साम्पाङ लाई स्थानीय शङ्कर साहले सडक र पुलको अवस्थाबारे प्रश्न उठाउँदा कार्यकर्ताले स्थिति तनावपूर्ण बनाए । प्रश्नको जवाफ दिनुको साटो साहलाई घेरेर हप्काई–दप्काई गर्दे कुटपिट समेत गर्न खाजेको प्रत्यक्षदर्शी स्थानीय नवराजले बताए ।
साहले धरानदेखि चतरा सडक खण्डको अवस्था सडक दयनीय रहेको, वर्षायाममा मर्मत नहुने गरेको गुनासो गरेका थिए । दैनिक ज्यालादारी गर्ने मजदुर, साइकल यात्री, सिटी सफारी र विद्युतीय रिक्सा प्रयोगकर्तालाई जोखिम भएकोले सडक निर्माण हुनुपर्ने उनको माग थियो। 
उनले भने “मैले विलासी गाडी—मर्सिडीज, ल्यान्ड रोभर, बीएमडब्ल्यूलाई प्राथमिकता दिनु भनेको होइन ।” सडक खण्डहरू बुल्डोजर प्रयोग गरी केही घण्टामै मर्मत गर्न सकिने अवस्थामा रहे पनि बेवास्ता हुँदै भएको गुनासो गरेको बताउँदा आफू माथि आइलागेको उनले बताए । 
उनले ‘बाघ खोला’ पुल अझै अधुरो रहेकोप्रति पनि असन्तुष्टि जनाएका थिए । जङ्गल वा प्रतिबन्धित क्षेत्रको विषय नभई बाघ खोला पुलकै कुरा गरेको भए पनि गलत बुझाइका कारण वास्तविक समस्या ओझेलमा परेको बताएका थिए ।
तर साम्पाङ सहित कार्यकर्ताले साहलाई श्रमदानमा सहभागी नभएको आरोप लगाउँदै घेरेर हप्काएको भिडियोमा देखिन्छ । प्रतिवाद गर्दै साहले “म पनि एक कामदार हुँ, एक मजदुर हुँ,” भन्दै आफूले पटक–पटक बाटो निर्माणमा श्रमदान गरेको दाबी गरेका छन् ।
सडक निर्माण तत्काल सुरु गर्न र पुल छिटो सम्पन्न गर्न आग्रह गर्दै साहले अङ्ग्रेजी भाषामा भने, “मेरो आवाज नरम छ, तर मेरा शब्द कडा छन्, म केवल हर्क साम्पाङ लाई होइन, सबैलाई बोलिरहेको छु ।”
भाइरल भिडियोले स्थानीय पूर्वाधार विकासको सुस्त गतिप्रति जनस्तरमा बढ्दै गएको आक्रोश र असन्तुष्टि उजागर गरेको छ ।