वराहक्षेत्र : वराहक्षेत्र नगरपालिका वडा नं ६ चक्रघट्टिमा रहेको वराहक्षेत्र नगर अस्पतालका चिकित्सक , कर्मचारी तथा स्वास्थ्यकर्मीहरूलाई बेसिक लाइफ सपोर्ट ( बि.एल.एस) सम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ ।
अस्पतालबाट प्रदान हुँदै आएको इमरजेन्सी सेवालाई थप प्रभावकारी , व्यवस्थित बनाउनसँगै जीवन बचाउने प्राथमिक उपचार कौशलहरू , चोटपटक वा रोगको समयमा तत्काल सहायता प्रदान गर्ने , उद्धार , सास प्रश्वास , प्राथमिक ट्रमा, रक्तस्राव नियन्त्रण, वायुमार्गको सुरक्षा र चोटहरूको प्रकार अनुसार उपयुक्त चिकित्सा हेरचाह प्रदान गर्ने उक्त बेसिक लाइफ सपोर्ट ( बि.एल.एस) सम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको नगर अस्पतालका निमित्त व्यवस्थापक दिवस विष्टले जानकारी दिए ।
शुक्रवार र शनिवार दुई दिन आयोजना हुने उक्त अभिमुखीकरण कार्यक्रममा नगर अस्पतालमा कार्यरत डाक्टर चिरनञ्जिवि बस्नेतले सहजीकरण गर्नेछन् । नगर प्रमुख तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रमेश कार्कीको सभाध्यक्षतामा आयोजना भएको कार्यक्रममा नगर उपप्रमुख नन्दकुमारी सुनुवारको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवाल विशिष्ट अतिथि रहेका थिए । कार्यक्रमको सञ्चालन निमित्त व्यवस्थापक दिवस विष्टले गरेका थिए ।
प्राकृतिक प्रकोप , दुर्घटना , हृदय घाट लगायतको घटनामा इमरजेन्सी बिरामीहरूलाई उपचार गर्ने बेसिक लाइफ सपोर्ट सम्बन्धी अभिमुखीकरण महत्त्वपूर्ण र फलदायी नगर प्रमुख तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रमेश कार्कीले बताए ।
दैनिक अस्पतालमा २ सय ७५ देखि ३ सय २५ को संङख्यामा सेवाग्राहीहरू आउने गरेका छन् । हाल अस्पतालले वर्षको ३६५ दिनै बिहान ७ बजे देखि बेलुकी ७ बजे सम्म चिकित्सकद्वारा ओपिडी सेवा र आकस्मिक सेवा दिँदै आइरहेको छ ।
२४ सै घण्टा इमरजेन्सी, ल्याब, फार्मेसी, फिजोयोथेरापी सेवा, आँखा उपचार सेवा, दन्त सेवा, भिडियो एक्स-रे लगायत सबै सरकारी नियमित सेवाहरू सञ्चालन गर्दै आएको छ ।