इटहरी : इटहरीमा बढ्दै गएको साहित्यिक गतिविधिमा थप एउटा बृहत् कार्यक्रम आयोजना गरिएको छ । राजेश हमाल, सुबिन भट्टराई लगायत ५ जना लेखक र मनु मन्जिल सहित ११ जना कविहरू एउटै मन्चमा प्रस्तुत हुने भएका हुन् ।
शनिवार फाइन प्रिन्ट प्रकाशनले "फाइन प्रिन्ट फिभर, घुम्ती साहित्य उत्सव" अन्तर्गत इटहरीमा कार्यक्रम गर्न लागेको छ । काव्य डबली र शब्द प्रवाहको सहकार्यमा इटहरीमा हुन लागेको फाइन प्रिन्ट फिभरमा सहभागी हुन कुनै शुल्क नलाग्ने बताइएको छ । पुस्तक पढ्ने संस्कृतिलाई बढाउँदै पाठक र लेखकलाई जोड्ने हेतुले अभियान सुरु गरिएको हो ।
भर्खरै फाइन प्रिन्ट बाट प्रकाशित राजेश हमालको अन्तर्वार्ताको पुस्तक "युगदेखि युगसम्म" को चर्चा हुने भएको छ । कवि मनु मञ्जिलले हमाल सँग अनुभवमा आधारित अन्तरक्रिया गर्ने भएका छन् ।
२०८१ को मदन पुरस्कार विजेता उरमालका लेखक छुदेन काविमोसँग कवि प्रज्वल पराजुलीले भलाकुसारी गर्नेछन् । २०८१ कै पद्यश्री पुरस्कार विजेता पुस्तक छालबाटोका लेखक रमेश भुसालसँग डा.अस्मिता विष्टले सहजीकरण गर्ने भएकी छिन् । भुसालले कर्णालीको कथालाई र मुख्यतः कर्णाली नदिमा आधारित रहेर पुस्तक लेखेका छन् ।
स्वस्पर्श पुस्तकमा डाक्टर नवराज केसीसँग सोनु जयन्तीले सहजीकरण गर्ने भएका छन् । ददि सापकोटाको पुस्तक ज्ञानिकामाथि पत्रकार मिलन बुढाथोकीले सहजीकरण गर्नेछन् । पछिल्लो समयका चर्चित लेखक सुबिन भट्टराईको चमेलीको फूल, बैजनी रुमालमाथि कवि धीरज राईले प्रश्न सोध्नेछन् ।


































































