धरान : जनता समाजवादी पार्टीका नेता सुनसरी १ का निवर्तमान सांसद अशोक राईले कोशीको पानी धरानवासीलाई खुवाउने आफ्नो योजना अन्तमा धरान उपमहानगरपालिकाका पूर्व प्रमुख हर्क साम्पाङले इन्कार गरेको कारण पुरा हुन नसकेको बताएका छन् ।
साम्पाङले राजीनामा दिनु अघि गत: आवको राष्ट्रिय बजेट बन्नु अघि ४ अर्बको खानेपानी परियोजना लिएर सम्बन्धित मन्त्री स्वयं धरान उपमहानगरपालिका आएका थिए । तर प्रमुख साम्पाङले एडिबीको ऋण नलिने भनी योजना इन्कार गर्दै मन्त्रीलाई भेट्न सम्म नचाहेपछि योजना रुद्ध भएको थियो ।
धरानमा आज सोमवार पार्टीको चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा पूर्व मन्त्री राईले भने ‘धरानको दीर्घकालीन खानेपानी समस्या समाधानकै लागि मैले खानेपानी मन्त्रालय रोजेको थिएँ, धरानलाई कोशीको पानी खुवाउने मन्त्रालयको प्रस्तावमा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ सहमति नजनाएकोले पुरा हुन सकेन ।’
सुनसरी १ मा नेता राईको पार्टीबाट प्रत्यक्ष उम्मेदवारमा नरेन्द्र पारघरी छन् । समानुपातिक उम्मेदवार बिना राई छिन् । अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा नेता राई सुनसरी १ बाट नेकपा एमालेको समर्थनमा विजयी भएका थिए । यसपाली जसपा विभाजित भए पछि एक्लिएका राईको पार्टीले आफ्नै बलबुतामा उम्मेदवारी दिएको हो ।
नेता राईले विशेष गरी धरानको खानेपानीको दीर्घकालीन समाधानका लागि कोशीबाट पानी ल्याउने र धरानलाई तराई–पहाडको व्यापारिक केन्द्र बनाउन धरान–लेउती सुरुङ मार्गलाई प्राथमिकता दिने उद्घोष गरे ।
उनका अनुसार खानेपानीको प्राविधिक अध्ययन अनुसार हालको उपयुक्त विकल्प सप्तकोसी नदीबाट बोरिङ गरी पानी निकालेर लिफ्ट मार्फत सूर्य कुण्ड पुर्याई गुरुत्वाकर्षण प्रणाली प्रयोग गरेर विजयपुर र धरान क्षेत्रमा वितरण गर्ने योजना अघि सारिएको छ । यसबाट धरान–२० विष्णु पादुका लगायतका सुक्खा क्षेत्रहरूमा समेत पानीको सहज पहुँच हुने छ ।
राईले धरान–लेउती सुरुङ मार्ग योजनाको औचित्य स्पष्ट पार्दै यसले लागत घटाउने, भेडेटार र लेउती खोलाबिच बारम्बार पहिरो जाने जोखिमयुक्त क्षेत्रबाट सुरक्षित यात्रा सुनिश्चित गर्ने बताए ।
हाल धरानबाट भेडेटारसम्म ३० देखि ४५ मिनेट लाग्ने यात्रा सुरुङ मार्ग सञ्चालनपछि करिब ५ मिनेटमै पूरा गर्न सकिनेछ । नाजुक पहाडी भूभागमा सतही सडकको तुलनामा सुरुङ मार्ग भूकम्प, बाढी र पहिरो जस्ता प्राकृतिक प्रकोपप्रति बढी सुरक्षित र स्थिर संरचना हुने उनले बताए ।
यसबाट धरानलाई क्षेत्रीय पर्यटन केन्द्र र पूर्वी पहाडी क्षेत्रको जीवन रेखाका रूपमा विकास गर्ने नयाँ माग खुल्नेछ ।
घोषणापत्रमा धरान–लेउती सुरुङ मार्ग सम्पन्न गर्ने, धरानलाई व्यापारिक केन्द्रको रूपमा विकास गर्ने, प्रस्तावित औद्योगिक क्षेत्र सञ्चालन गरी व्यवसायीमैत्री लगानी वातावरण बनाउने, गोर्खा लाहुरेहरूको सीप र आम्दानीलाई लगानीमा रूपान्तरण गर्ने तथा खेलकुद पर्यटन हब निर्माण गर्ने लक्ष्य लिइएको उल्लेख छ ।
आधुनिक रङ्गशाला, कभर्ड हल, सङ्गीत विश्वविद्यालय स्थापना, धरान–१६ स्थित रङ्गशालालाई राष्ट्रिय स्तरको रङ्गशालामा रूपान्तरण, श्रम बैङ्क तथा विपद् व्यवस्थापन बैङ्क स्थापना, सेउती करिडोर निर्माण, सेउती–कोकाहा–सुपारे खोलामा पक्की पुल निर्माण, वन–सिमसार तथा सूक्ष्म जलाधार संरक्षण, स्वास्थ्य–शिक्षा बिमा योजना र विपन्न वर्गका लागि आयमूलक कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता पत्रमा उल्लेख छ ।