धरान : नेकपा एमालेको बलियो पकड भएको निर्वाचन क्षेत्र मध्येमा पर्छ सुनसरी एक । वामपन्थीको किल्ला मानिएको सुनसरी १ मा यस पटक चुनावी रौनक थप बढेको छ । वामपन्थी दलबाट नेकपा एमालेका उम्मेदवार टिकाराम लिम्बु (माङ्ले) सँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का मनोज भट्टराई चुनावी मैदानमा छन् ।

भट्टराई र लिम्बुमा वामपन्थी मत विभाजन हुने आकलन गरे पनि विगतको इतिहासका आधारमा लिम्बु नै बलिया देखिएका छन् । अर्कातर्फ धरानका निवर्तमान मेयर हर्कराज राई (हर्क साम्पाङ) श्रम संस्कृति पार्टीबाट उम्मेदवार बनेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट गोमा तामाङ (सरिन) र नेपाली काँग्रेसका सुजेन्द्र तामाङ चुनावी मैदानमा छन् ।

हर्क, सरिन र सुजेन्द्रको सुनसरी १ मा छुट्टै पकड छ । यसअघि नेकपा एमाले र जनता समाजवादी पार्टी सँगको गठबन्धनमा टक्कर दिएकी रास्वपाकी सरिन यस पटक झनै उत्साहित छिन् । देशव्यापी रास्वपाको माहौलबाट फाइदा लिने उनको तयारी छ । तर उनले पाउने मतमा हर्कले रोक्ने देखिन्छ । यसअघि रास्वपालाई आएको मत र साम्पाङले मेयरको निर्वाचनमा पाएको मतको प्रकृति एउटै भएकाले समस्या पर्ने प्रस्ट छ ।

सरिन र हर्कको मत विभाजन हुँदा फाइदामा छन् एमाले उम्मेदवार लिम्बु । एमालेको सङ्गठन बलियो भएकाले पनि उनलाई फाइदा पुग्ने देखिन्छ । एमालेले रास्वपाबाट आक्रामक भएको महसुस गर्दै पार्टीभित्र आन्तरिक एकता बढाएको छ । समुदायगत हिसाबमा पनि फाइदामा छन् लिम्बु । एमाले र हर्कसँग असन्तुष्ट मतलाई आफ्नो पक्षमा पार्ने अभियानमा नेकपाका भट्टराई लागी परेका छन् । काँग्रेसका तामाङ भने आफ्नो मत सुरक्षित गर्दै थप मत बढाउने तयारी स्वरूप सुस्त गतिमा छन् ।

सुनसरी १ मा धरान उपमहानगरपालिकाका सम्पूर्ण २० वटै वडा, रामधुनी नगरपालिकाको ६ र ७ नम्बर वडा र वराहक्षेत्र नगरपालिकाका १ देखि ५ नम्बर वडा पर्छन् । एक लाख ५० हजार ३९३ मतदाता रहेको सुनसरी १ मा यसअघि एमालेको समर्थन पाएका जसपा उम्मेदवार अशोक राईले जम्मा १७ हजार ५९ मत पाएर विजयी भएका थिए । एमालेबाट बागी उम्मेदवार दिएका मनोज मेन्याङ्बोले ७ हजार ८१२ मत पाए । यस पटक कुनै पनि पार्टीमा गठबन्धन र बागी उम्मेदवारी परेको छैन । राई र मेन्याङ्बोको मत जोड्दा २५ हजार बढी देखिन्छ । जसपाको ५ हजारलाई घटाउँदा समेत एमालेको मत बलियो छ ।

२०७९ सालमा पनि समानुपातिकमा एमालेले २० हजार ९८ मत पाएको थियो । रास्वपाले १७ हजार २७१ र काँग्रेसले  ११ हजार ७५० मत पायो । समानुपातिकमा एमालेले पाएको २० हजार ९८ मतलाई हिसाब गर्दा गठबन्धनको इमान्दारीता र एमालेको मत प्रस्ट छुटिन्छ । त्यसबेला समानुपातिकमा रास्वपाले काँग्रेसको भन्दा बढी मत पाएको थियो । यस पटक आफ्नो मत जोगाउन सके रास्वपा र श्रम संस्कृति पार्टी बिचको प्रतिस्पर्धाबाट एमालेका उम्मेदवार विजयी हुने आकलन गर्न सकिन्छ ।

tikaram limbu 2२०७४ सालको प्रतिनिधि सभा निर्वाचनलाई मूल्याङ्कन गर्दा एमाले झनै बलियो देखिन्छ । तत्कालीन माओवादी केन्द्रको समर्थनमा एमालेका जयकुमार राईले ४४ हजार ५२८ मत पाएका थिए । त्यसबेला काँग्रेसको समर्थन पाएका जसपाका अशोक राईले जम्मा अशोक राई २२ हजार १२३ मत पाए । यस पटक लामो समयपछि काँग्रेसका मतदाताले रुख चिन्हमा मतदान गर्ने अवसर पाएका छन् ।

धरानमा २०७४ को स्थानीय तहको निर्वाचनमा तारा सुब्बाले २० हजार ९७५ विजयी पाएर मेयरमा विजयी भए । उपमेयरमा भण्डारीले २१ हजार २५६ प्राप्त गरिन् । २०७६ को उपनिर्वाचनमा नेपाली काँग्रेसका तिलक राई २६ हजार ७०९ मत सहित विजयी हुँदा समेत एमालेका प्रकाश राईले २३ हजार ९२४ मत पाएका थिए । सुनसरी १ का २७ वडा मध्ये अधिकांश वडामा एमालेकै प्रभाव छ ।

२०७९ मा धरानको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ विजयी बने । उनको प्रतिस्पर्धामा काँग्रेस आयो तर एमालेकी मञ्जु भण्डारीले कमै मत पाइन् । हर्कले २० हजार ८२१, तत्कालीन माओवादी केन्द्र र नेकपा एससँगको गठबन्धनमा काँग्रेसका किशोर राईले  १६ हजार ५९ र एमालेकी भण्डारीले जम्मा १२ हजार ८२५ मत पाइन् । एमालेका उपमेयर पदका उम्मेदवार पदम प्रसाद लिम्बु १७ हजार ६०६ मत पाएका थिए । त्यसबेला पार्टी विभाजन र आन्तरिक असन्तुष्टिको सिकार बन्यो एमाले ।

धरानमा बहुमत वडाध्यक्ष जितेको एमालेले वराहक्षेत्रमा पनि ५ मध्ये ३ वडामा एमाले विजयी भएको छ । रामधुनीको ६ नम्बरमा गयाराम राजधामी १७ मतले पराजित भए भने ७ नम्बरमा केशव गौतम विजयी बनेका थिए । यसरी हेर्दा आफ्नो प्रभाव मत बचाउन सके एमालेका लिम्बुलाई फाइदा पुग्ने प्रस्ट छ ।